‘राप्रपा नेपालको’ अध्यक्ष बने ‘कमल थापा’ !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । राप्रपा परित्याग गरेका कमल थापाले ‘राप्रपा नेपाल’ नामको पार्टी ब्युँत्याउने भएका छन् । थापाले एक विज्ञप्ति जारी गर्दै राप्रपा नेपाललाई ब्युँताउने जानकारी दिएका हुन् ।  राप्रपा नेपालको घोषणा सभा २०७८ साल फागुन ७ गते काठमाडौँमा हुने थापाको भनाइ छ । हेर्नुहोस् विज्ञप्ति :

“देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरूको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ । केही समयको अलमल पछि फेरि हामी आफ्नो घर फर्केका छौँ ।

यस कार्यलाई सम्भव तुल्याई दिनुहुने तथा अन्तरिम र सङ्क्रमणकालीन अवस्थामा राप्रपा नेपाललाई जीवन्त तुल्याई राख्न महत्त्वपूर्ण योगदान दिनुहुने राप्रपा नेपालका नेता लाक्पा तामाङ प्रति म हार्दिक आभार व्यक्त गर्दछु ।

राप्रपा नेपाल २०६३ सालको राजनीतिक परिवर्तन पछि अलग पहिचान, फरक विचार र वैकल्पिक मार्गचित्र बोकेर नेपालको राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रवादी प्रजातान्त्रिक शक्ति हो ।

नेपाली जनताको विश्वास जितेर छोटो समयमा नै राप्रपा नेपाल देशको भरपर्दो शक्ति बन्न सफल भयो । २०७० सालको संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेस र कम्युनिस्ट पार्टीहरू पछिको तेस्रो ठुलो शक्तिको रूपमा राप्रपा नेपाल देखा प¥यो । राप्रपा नेपाललाई जनताले आशा, विश्वास र भरोसाको नजरले हेर्न थाले ।

तर, २०७३ सालदेखि हामीले बाटो बिरायौँ । पार्टी ठुलो बनाउने नाममा अति महत्त्वाकांक्षा र सत्ता केन्द्रित रनभुल्लमा प¥यौ । गम्भीर राजनीतिक भुलका शृङ्खलाहरु सुरु भए ।

असहज र गलत प्रवृतिहरुसँग सम्झौता गर्न थाल्यौँ । फलस्वरूप हामी करिब पाँच वर्ष राष्ट्रिय राजनीतिमा करिब करिब निष्क्रिय, प्रभावविहीन हुन पुग्यौँ ।

नियतिले अन्ततः फेरि हामीलाई ठीक ठाउँमा ल्याईपु¥याएको छ । विगतका त्रुटि, कमजोरीहरूबाट पाठ सिकेर तथा गल्तीहरू सच्याएर फेरी एक पटक आफ्नो गन्तव्यतर्फ अग्रसर रहने अवसर हामीले पाएका छौँ ।

बिचमा अवरुद्ध भएको हाम्रो यात्रा अब नयाँ ऊर्जा र अठोटका साथ अघि बढ्ने छ । राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित “सम्बद्र्धनवाद” को मूल शक्ति राप्रपा नेपाल हो भन्ने कुनै द्विविधा छैन ।

राप्रपा नेपालको विरासतलाई निरन्तरता दिँदै अबदेखि “हिन्दुराष्ट्र, सुशासन र समृद्धि” राप्रपा नेपालको मूल एजेण्डा हुनेछ । जनताको भावना र देशको धरातलीय यथार्थलाई दृष्टिगत गर्दै केही मान्यताहरू, प्राथमिकताहरू र कार्यनीतिमा हामी समयानुकूल परिमार्जन गर्नेछौँ ।

आगामी स्थानीय तहको निर्वाचनमा हामी सक्रियताका साथ सहभागी हुनेछौँ । राप्रपा नेपालको घोषणा सभा २०७८ साल फागुन ७ गते काठमाडौँमा हुनेछ ।

राप्रपा नेपालको यो अभियान र यात्रामा सहभागी हुन म सबै साथीहरूमा आह्वान गर्दछु । विगतमा सँगै काम गरेका साथीहरूलाई विना कुनै द्विविधा राप्रपा नेपालमा आबद्ध हुन म आग्रह गर्दछु ।

हिन्दुराष्ट्र, सुशासन र समृद्धिको मान्यता प्रति विश्वास गर्नु हुने स्वतन्त्र बुद्धिजीवी, नागरिक समाज, तथा विभिन्न दलहरूमा आबद्ध रहेकाहरूलाई पनि राप्रपा नेपाललाई साथ दिन, सहभागी हुन र मार्गदर्शन गर्न सविनय अनुरोध गर्दछु ।

राप्रपा नेपाललाई देशको अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित गर्ने संकल्पमा साथ र समर्थन दिन म नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा अपिल गर्दछु । धन्यवाद ।”

कमल थापा

अध्यक्ष

राप्रपा नेपाल तथा पूर्व उपप्रधानमन्त्री

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !