‘काउन्टर महाभियोग’ को तयारी : एमालेले थाल्यो हस्ताक्षर सङ्कलन

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता पक्षका ९८ सांसदले आइतबार महाअभियोग दर्ता गरेको भोलिपल्ट त्यसको प्रत्युत्तरमा नेकपा एमाले ‘काउन्टर महाअभियोग’ को तयारी गरेको छ ।

विशेष गरी सभामुखमाथि महाअभियोग दर्ता गराउन एमालेले आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलनको गृहकार्य थालेको छ ।

सोमबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको एमालेले त्यहीँबाट हस्ताक्षर सङ्कलन गर्ने र महाभियोगको प्रस्ताव तयार पार्ने तयारी गरिरहेको एमालेका एक नेताले बताए ।

संसदीय दलको बैठकमा अनिवार्य उपस्थित हुन एमालेले आइतबार नै आफ्ना सांसदलाई ह्विप जारी गरिसकेको छ ।

आइतबार साँझ पार्टी अध्यक्ष केपी ओलीको निवासमा बसेको एमाले सचिवालयको बैठकले चोलेन्द्रशमशेर जबरामाथि लागेको महाभियोगको प्रतिवाद गर्ने निर्णय गरेको थियो ।सोही प्रतिवादको तयारीका लागि एमालेले सोमबार संसदीय दलको बैठक बोलाएको हो ।

त्यसो त सांसदहरूको हस्ताक्षर सङ्कलन गर्न लागिए पनि क–कसलाई महाअभियोग लगाउने भन्नेबारे अहिलेसम्म प्रस्ट नभएको एमालेका एक सांसदले बताए ।

उनले भने, ‘फ्रेस हस्ताक्षर सङ्कलन गर्ने भनिएको छ, तर सभामुखमाथि मात्र महाअभियोग लगाउने हो कि चार न्यायाधीशमाथि लगाउने नेताहरूले स्पष्ट बताएका छैनन् ।’

त्यसो त एमालेले केही महिना अगाडि पनि सांसदहरूको हस्ताक्षर सङ्कलन गरेको थियो । तर, त्यो सूचीमा हाल एकीकृत समाजवादीतिर लागेका जीवनराम श्रेष्ठहरूको समेत नाम रहेकाले नयाँ कागजमा हस्ताक्षर सङ्कलन गर्न लागिएको एमालेका एक नेताले जानकारी दिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !