परराष्ट्रले लुकाएको पत्रमै यस्तो छ अमेरिकाको डरलाग्दो भाषा…

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाण्डौ – एमसिसी परियोजना संसदबाट अनुमोदन भएन भने अमेरिकाले नेपालसँगको सम्बन्धमै पुनर्विचार गर्ने भनेको छ । मुखले भनेको कुरा शायद त्यत्ति होला ।

तर, अवस्था त्योभन्दा धेरै गम्भीर छ । दृश्य र अदृश्य गरी काठमाडौंमा अहिले अमेरिकी अधिकारीको बाक्लो घेराबन्दी छ । दूतावास विवादमा आउला भनेर पर्दापछाडि केही स्वदेशी र विदेशी मानिस परिचालित छन् ।

यस क्रममा काठमाडौंस्थित अमेरिकी दूतावासबाट पब्लिक अफेयर्स हेर्ने पि.एस. थोमस, पोलिटिकल र इकोनोमिक फाँट हेर्ने क्लिन्टन एस. ब्राउनसहित केही गुप्तचर उच्चस्तरको राजनीतिक भेटघाटमा सक्रिय छन् ।

उनीहरूले अघिल्लो सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटे । केपी ओली, शेखर कोइरालासहितका नेताहरूसँग पनि नियमित र बाक्लो कुराकानी भइरहेको छ ।

पहिला प्रचण्डकहाँ गए, त्यसपछि ओलीलाई भेट्न बालकोट पुगे । र, यही मामिला सुल्झाउन कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको पनि अचम्मको सक्रियता छ ।

थोमस र ब्राउनसँगै दुई जना अमेरिकी गुप्तचर पनि यस्ता संवादमा पुग्ने गरेको बताइन्छ । एमसिसी स्वीकार नगरिए सम्बन्धमै पुनर्विचार गर्ने टेलिफोनिक चेतावनी सहायक विदेशमन्त्री डोनाल्ड लुले गत हप्ता दिएका थिए ।

तर, एक महिनाअगाडि लिखित रुपमै यस्तो चेतावनी परराष्ट्रमा दर्ता भइसकेको छ । सोहीअनुसार स्वदेशी खर्च व्यहोरेर निजी कम्पनीको तालिममा अमेरिका जाने सेनासमेत रोकिएको स्थिति छ ।

भर्खरै अमेरिकाका लागि राजदूत सिफारिस भएर संसदीय सुनुवाइ सकाएका श्रीधर खत्रीले पनि ढुक्क हुने अवस्था छैन । किनभने, अमेरिकाले नेपालका सबैखाले सरकारी भ्रमणमा बन्देज लगाउन थालिसक्यो । यसबाट राजदूतको स्वीकृति (एग्रिमो) पनि नरोकिएला भन्न सकिन्न ।

नेपालको संसदबाट एमसिसी पास गर्न दलहरू हिच्किचाएका कारण अमेरिकाले कतिसम्म गर्यो भने न उसको खर्च पर्ने, न त सरकारी स्तरकै प्रशिक्षण केन्द्रमा पुग्ने ! तैपनि नियमित तालिममा जान लागेका नेपाली सेनामाथि नै नाकाबन्दी लाग्यो । यसरी पीडित भएका पात्र हुन्, सेनाका डाक्टर र पाइलटहरू ।

उनीहरू विशुद्ध सेनाको खर्चमा त्यहाँको निजी कम्पनीमा तालिम लिन जाने क्रममा थिए । तर, अन्तिम अवस्थामा आएर अघिल्लो महिना रोकिएको छ ।

त्यसैले एमसिसी सहायतामात्रै हैन, हस्तक्षेप नै हो भन्ने स्वर चर्को भएको छ । नत्र, ‘सिरिज अफ ट्रेनिङ’ नगरी भिभिआइपी उडान गर्न नमिल्ने स्थितिमा जान लागेका सेना यत्तिकै रोकिने थिएनन् ।

केपी ओली प्रधानमन्त्री हुँदाका बडिगार्ड हिमालय थापा पनि त्यही घानमा परेका छन् । त्यसैले यही ताल हो भने राजदूतको एग्रिमो पनि रोकिने खतरा रहेको कूटनीतिक अधिकारीहरू बताउँछन् ।

किनभने, अमेरिकाले यो मामिलालाई चीनसँग जोडेर हेरेको छ । त्यो भनेको देउवा हैन, प्रचण्ड, ओली, माधव नेपालसहितका कम्युनिष्ट हरूलाई चेतावनी हो ।

प्रचण्डको अप्ठेरो त कतिसम्म भने, हिजोको सशस्त्र द्वन्द्वकालीन मुद्दा उठाइदिएर हेगमा तान्न चाहँदा अमेरिकाका लागि कुनै ठूलो कुरा हैन ।

यदि त्यसो भयो भने अमेरिकाले चाहँदा माओवादी पृष्ठभूमिका मानिसहरू संसारको कुनै पनि देशबाट जुनसुकै बेला समातिने खतरा रहन्छ ।

अमेरिकी सहायक मन्त्रीले सम्बन्धमा पुनर्विचार गर्ने कुरा त पछिमात्रै गरेका हुन्, एक महिना पहिलाकै लिखितमा त्यो कुरा प्रष्ट उल्लेख छ । सरकारी कर्मचारीहरूको भ्रमण रोक्दा दूतावासले परराष्ट्रलाई लेखेको पत्रमा त्यो कुरा परेको छ ।

उक्त पत्र जनवरी ८–९ तिर दूतावासले पठाएको हो । युरोप, अमेरिका डेस्क हेर्ने सहसचिव निर्मल काफ्लेकहाँ पुगेको उक्त पत्र केही समय लुकाइयो ।

सबैखाले भ्रमणलाई हालको निम्ति फेब्रुअरी ११ को समयसीमा तोकेर सोही पत्रमा रोकिएको हो । दूतावासले प्रेषित गरेको पत्रमा ‘वि आर अण्डर रिभ्यु अफ दि रिलेशन बेटविन टु कन्ट्रिज’ नै भनिएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !