CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले यथास्थितिमा एमसीसी संसद्मा टेबल हुनै नसक्ने जिकिर गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले भने, “एमसीसी टेबुल गर्न पहिलो कुरा त नेकपा एमालेले संसद् खुलाएको हुनुपर्छ ।
दोस्रो कुरा, सदनमा रहेका राजनीतिक दलहरुको बीचमा राष्ट्रिय सहमति अनिवार्य छ । यो दुवै हुन नसकेको अवस्थामा संसद्मा एमसीसी टेबुल हुनै सक्दैन ।”
सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय स्वाधीनताविपरीत, संविधान विपरीत एमसीसी प्रस्ताव किन ल्यायो भनेर रुलिङ गर्नुपर्ने उनले औंल्याए ।
उनले भने, “एसीसी संविधानसम्मत, कानुनसम्मत, ऐनसम्मत, परम्परासम्मत भएको भए अप्ठ्यारो थिएन । राष्ट्रिय हित र स्वाधीनताविपरीत एमसीसी कसरी टेबुल गर्ने ? सभामुख सरकार मातहतको निकाय होइन ।
सरकारले प्रस्ताव लाने मात्र हो । स्वीकार गर्ने वा नगर्ने अधिकार सभामुखलाई । राष्ट्रिय स्वाधीनताविपरीत, संविधान विपरीत प्रस्ताव किन एमसीसी ल्यायो भनेर उहाँले रुलिङ गर्न सक्नुहुन्छ ।
सरकारले भनेको कुरा बाध्यकारी हो र ? प्रधानमन्त्रीको निर्देशन लागू हुन्छ संसद्मा ? संसद्को निर्देशन प्रधानमन्त्रीले पालना गर्नुपर्दैन ?”
राष्ट्रघाती सम्झौतालाई लिएर सभामुखले निकास दिने कुरा सोच्नै नसकिने पनि गुरुङले बताए । उनले भने, “त्यत्रा जनता सडकमा उत्रिएका छन् ।
देशभक्त र राष्ट्रवादी नागरिकको माग जायज छैन ? मुस्ताङको युरेनियम ट्रकका टक लग्यो भने नेपाली सुरक्षाकर्मीले चेक गर्न नपाउने ? नेपाललाई विदेशीको हातमा सुम्पिने ? मुलुकको संसद्, संविधान र सरकारलाई निष्क्रिय बनाउने कुरामा दलाली र गद्दारी गर्ने ?”
सरकारमा पनि बस्ने, सडकमा जाने यो दोहोरो चरित्र भएन र भन्ने पत्रकार धमलाको प्रश्नमा माओवादी केन्द्रका नेता गुरुङले थपे, “माओवादी केन्द्रले घोषित रुपमा सडकमा जाने कुरा गरेको छैन ।
तर नागरिकका रुपमा विरोध गर्ने अधिकार सबैलाई छ । यो दोहोरो नीति होइन । कुनै पनि हालतमा राष्ट्रघाती सन्धि, सम्झौता अघि बढाइन पाइँदैन ।
एउटा आर्थिक परियोजनाका लागि यत्रो दबाब र घेराबन्दी गर्नुले यो नेपाल खाने सैन्य योजना रहेछ भन्ने प्रमाण होइन र ? अमेरिकाले भन्दा १३ पटक संशोधन गर्ने, नेपालले भन्दा एक पटक पनि नगर्ने हुन्छ र ?”
उनले राष्ट्रिय स्वाधीनताका अगाडि सरकार र गठबन्धन ठूलो कुरा नहुने बताए । गुरुङले भने, “हामीलाई राष्ट्रिय स्वाधीनता प्रिय छ । सरकार र गठबन्धन ठूलो कुरा होइन ।
मुलुकको स्वाधीनता बेच्ने अधिकार सरकारलाई छैन । नेपालमा बसेर नेपाली मातृभूमिमाथि छुरी धस्न पाइँदैन । । एमसीसी राष्ट्रघाती, जनघाती र आत्मघाती छ । यो प्रावधान परिमार्जन नहुँदासम्म अघि बढ्न सक्दैन ।”
तपाईंहरु सरकारमा बसेका बेला नै एमसीसी भएको होइन र भन्ने प्रश्नमा उनले भने, “हामीले सम्झौता गर्दा संसद्बाट अनुमोदन गर्ने कुरा थिएन ।
केपी शर्मा ओलीले बेठीक गर्यो भनेर समीक्षा गर्न नपाइने ? प्रचण्डले एमसीसीलाई पत्र लेख्दा कन्टेन्ट कुरा गरेको होइन, टाइमका कुरा गरेको हो । कृष्णबहादुर महराजीको पालामा राष्ट्रिय सहमति नभएकाले थान्को लगाएको कुरा अहिले फेरि किन पास गर्ने ?”