CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं – नेपालमा हरेक दिन जसो एमसीसी विरुद्धमा आन्दोलन चर्किन थालेपछि अमेरिकाले मुख खोलेको छ ।
नेपालका लागि अमेरिकी राजदूत र्याडी बेरीले एमसीसीको विषयलाई लिएर खुला बहसको समर्थक रहे पनि अमेरिकाले हिंसा वा हिंसा भड्काउने किसिमका विचार नस्वीकार्ने बताएका छन् ।
शुक्रबार दूतावासको आधिकारिक अकाउन्टबाट ट्वीट गर्दै राजदूत बेरीले भनेका छन्, ‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, एमसीसीको बिषयमा पनि हाम्रो धारणा त्यही हो।’ उनले एमसीसीबारे हिंसा भड्काउने विचारहरू स्वीकार्न नसकिने बताएका छन् ।
‘आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ,’ ट्वीट सन्देशमा उनले भनेका छन्, ‘तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन् ।’
विगत लामो समयदेखि नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेज गर्न माग गर्दै विभिन्न राजनीतिक दलहरुले आन्दोलन गरिरहेका छन् ।
कम्युनिस्ट पार्टीहरुले त मोर्चा बनाएरै यसको विरोध गरिरहेका छन् । फागुन ४ गते विप्लव नेतृत्वको नेकपासहित ५ दल र एक मोर्चाले नेपाल बन्द गरेको थियो ।
त्यही बन्दका क्रममा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको थियो । संसद भवन अगाडि भएको प्रदर्शनमा झडप हुँदा ९ जना प्रहरी र दर्जनौं प्रदर्शनकारी घाइते भएका थिए ।
उक्त घटनामा संलग्न भएको भन्दै प्रहरीले १ सय ५० भन्दा धेरैलाई पक्राउ गरेको थियो । शुक्रबार पनि नेकपासहित ६ राजनीतिक दल र दुई राजनीतिक मोर्चाले काठमाडौँ भव्य प्रदर्शनसहित आमसभा गरेको थियो ।
We are a strong supporter of free speech & public discourse based in fact, including on MCC. The right to express one’s views is intrinsic to democracy, and people must be allowed to peacefully share their views. Violence & incitement to violence are never acceptable.
— Ambassador Randy Berry (@USAmbNepal) February 18, 2022
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।