एमसीसीमा नेकपा एसको निर्णय:संसदमा पेश गर्न दिने, तर संशोधनबिना अनुमोदन नगर्ने

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – सत्तारुढ दल नेकपा एकीकृत समाजवादीमा एमसीसीबारे चर्को विवाद भएपछि केन्द्रीय सचिवालय बैठक बोलाइएको छ ।

बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाएको सो पार्टीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए । यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो ।

तर, पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी संसदमा पेश गर्न दिने निर्णय नै नगरेको भन्दै चर्को असन्तुष्टि जनाएका थिए । उनले आइतबारको संसद बैठकमा समेत एमसीसी पेश गर्न दिएकोमा विरोध गरेका थिए ।

शनिबारको स्थायी कमिटी बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दुई पटक विज्ञप्ति निकाल्नुपरेको थियो । खतिवडाले दुई पटक विज्ञप्ति निकाल्दा पनि स्पस्ट नभएको भन्दै पुन महासचिव डा.बेदुराम भुसालले अर्को विज्ञप्ति निकालेका थिए ।

खतिवडाले पहिला निकालेको विज्ञप्तिमा एमसीसी संशोधनबिना अगाडि बढाउन नसकिने पूर्ववत् अडान कायमै रहेको र थप निर्णय गर्नुपर्ने अधिकार सचिवालयलाई दिइएको उल्लेख गरेका थिए ।

लगत्तै अर्को वक्तव्यमा संसद अवरोध हटेर दलहरुबीच राजनीतिक सहमति जुटेमा एमसीसी पेश गर्न तयार भएको उल्लेख थियो ।  ‘बैठकले एमसीसी कम्प्याक्टलाई जस्ताको तस्तै अनुमोदन गर्न नसकिने, तर सार्वभौम संसदमा सघन छलफल गर्न भने तयार हुने निर्णय गरेको छ’, भुसालको वक्तव्यमा भनिएको छ ।

तर, नेता खनाल एमसीसी संसदमा टेबल गर्न दिने कि नदिने भन्नै बैठकमा कुनै नै निर्णय नभएको दावी गर्दै आएका छन् । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक समेत रहेका जीवनराम श्रेष्ठ स्थायी कमिटीको निर्णय नै एमसीसीबारे आधिकारिक निर्णय भएको बताउँछन् ।

‘एमसीसीमा पार्टी स्थायी कमिटीको निर्णय प्रस्ट छ । संसदमा पेश गर्न दिने, तर संशोधनबिना अनुमोदन नगर्ने भन्ने नै हो’, श्रेष्ठले मिडियासँग भने, ‘स्थायी कमिटीको निर्णय सचिवालयले काट्न सक्दैन ।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।
सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !