देउवा र ओलीबीच भित्र भित्र भेटवार्ता, के छ रहस्य ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – एमसीसी सदनमा टेबल भएसँगै नेपालको राजनीति रोचक मोडमा पुगेको छ । अब एमसीसीको भविष्यले कतिपय नेता तथा दलको राजनीतिक भविष्य पनि निर्धारण गर्ने संकेतहरु मिल्न थालेका छन् ।

एमसीसी पास या फेल गराउनुलाई नेताहरुले राजनीतिक लाभ र हानीको विषय बनाइसकेका छन् । कतिपयले यसमा राजनीतिक बाजी मार्ने जोखाना हेरिरहेका छन् ।

एमसीसीको पक्ष या विपक्षमा सत्ता गठबन्धन नै विभाजित छ । नेपाली काँग्रेस कुनै हालतमा पारित गर्ने पक्षमा छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एमसीसीको विपक्षमा छन् ।

टेबल गर्न दिएर प्रचण्ड र माधव नेपालले सत्ता गठबन्धन तत्काललाई जोगाएका छन् । तर, धेरै सम्भावनाहरु देखिन थालेको छ । गठबन्धन जोगाउन प्रधानमन्त्री शेरबहादुर देउवाको प्राथमिकता देखिन्छ ।

तर, उनका लागि त्यो भन्दा प्राथमिकता एमसीसी पास गर्नमा छ । गठबन्धन एमसीसी पास गर्न लागेमा जोगिने अन्यथा देउवाले विकल्प रोज्ने सम्भावना छ ।

गठबन्धन तोडेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिक लेनदेनको प्रयास चलिरहेको छ । यसका लागि देउवाले ओलीलाई दुईपटक बालकोट पुगेर भेटिसकेका छन् ।

देउवाले ज्ञानेन्द्रबहादुर कार्कीलाई ओली कहाँ भेट्न पठाइरहेका छन् । ओलीले पनि सुवास नेम्वाङलाई खटाएका छन् । एमसीसीका लागि देउवा र ओलीबीच सत्ता साझेदारी र राजनीतिक लेनदेनको प्रयासहरु चलिरहेको छ ।

विश्वस्त स्रोतका अनुसार देउवा एमसीसीका लागि ओलीसँग मिल्न तयार भइसकेका छन् । तर, उनलाई एमसीसीमा ओलीबाट धोका हुने देखि कम्युनिस्टहरु मिल्ने डर पनि छ । यस्ता आशंकाहरु मेटाउने प्रयास देउवा र ओली दुवै पक्षधरले गरिरहेका छन् ।

प्रचण्ड गठबन्धन जोगिनेमा ढुक्क हुन भनिरहेका छन् । उनले आज काँग्रेस नेता रामचन्द्र पौडेलसँगको भेटमा त्यही भने । तर, प्रचण्ड एमसीसी टेबल गर्न वातावरण बनाउन तयार भएपनि पास गर्न तयार छैनन् । न त माधव नेपाल नै तयार छन् ।

एमसीसी असफल बनाएर कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी गर्ने सम्मको प्रचण्डले विकल्प राखेको देखिदैछ । उनले बेला बेलामा बालकोट गएर ओलीसँग भेट्ने कुरा गरेका छन् । ओलीसँग फेरि मिल्ने प्रचण्डले विकल्प राखेका छन् । यसले देउवालाई सतर्क बनाएको छ ।

माधव नेपाल भने गठबन्धन जोगाउनुपर्ने वाध्यतामा छन् । प्रचण्ड र ओली मिलेमा ठूलो झड्का माधव नेपाललाई लाग्नेछ । उनी सकेसम्म गठबन्धन जोगाएर जाने मध्यमार्गी बाटो खोजिरहेका छन् । नेकपा एसभित्र एमसीसीको पक्ष या विपक्षमा सांसदहरु रहेका छन् । झलनाथ खनाल एमसीसी टेबल गर्ने निर्णयको विपक्षमा थिए ।

अब केही दिनभित्रै राजनीतिक माहोल रोचक बन्ने देखिदैछ । अप्रत्याशित राजनीतिक घटनाहरु घट्नेको गरेको देशको राजनीतिमा कुनैपनि शक्ति कुनैपनि बेला मिल्ने र छुट्ने अवस्था बन्ने देखिदैछ ।

गठबन्धन टुट्ने प्रबल सम्भावना छ । विकल्पमा या देउवा ओलीसँग मिल्ने देखिदैछ । या ओली र प्रचण्डको पुनः मिलनको सम्भावना छ । दुवै सम्भावनाको ढोका बन्द हुन प्रचण्ड एमसीसी पारित गर्न तयार हुनुपर्ने अवस्था हुनसक्छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !