CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौँ – सभामुख अग्नीप्रसाद सापकोटाको पद धरापमा परेको छ । एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न ढिला गरेपछि एमालेले सभामुखलाई तारो बनाएको थियो ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच सभामुख सापकोटालाई हटाउने लगभग सहमति जुटेको छ ।
आफूले कारबाही गरेका १४ सांसदलाई कारबाही गरेको सूचना टाँस नगरेको भनेर एमालेले पहिलेदेखि नै सभामुख सापकोटाको विकल्प खोज्दै आएका थिए ।
अहिले एमसीसी टेबल गर्ने विषयमा भने कांग्रेसले भनेको नमानेको सभामुख सापकोटामाथि आरोप छ । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुको निरन्तरको वार्तामा सभामुख सापकोटालाई हटाउने सहमति भइसकेको एक नेताले बताएका छन् ।
एमसीसी प्रकरणमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र विपक्षमा उभिएसँगै प्रधानमन्त्री देउवाले एमालेको साथ खोजिरहेको छ ।
त्यसका लागि एमालेले सभामुख सापकोटालाई हटाउनुपर्ने सर्त अघि सारेको थियो । एमालेको यो प्रस्तावमा लगभग सहमति भएको र अरु विषयमा पनि सहमति गरेर हस्ताक्षरको तयारी भएको स्रोतको भनाइ छ ।
एमसीसी सदनबाट पारित गराउनेगरि कांग्रेस नेताहरुले एमाले नेतृत्वसँग पछिल्लो समय लगातार छलफल गरेका छन् । एमालेसँगको छलफल सकारात्मक बनेको कांग्रेस नेताहरुको दाबी छ ।
एमालेले संसद्को बैठकमा भाग लिने वातावरण बनाउन प्रधानमन्त्री देउवासमक्ष आग्रह गरेको छ । यसको लागि एमालेले दुई वटा मुख्य शर्त अघि सारेको छ।
पहिलो शर्त एमालेले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना टाँस्न लगाउने र दोस्रो सभामुखलाई हटाउने रहेको छ। यी शर्तमध्ये दोस्रो र्शमा कांग्रेसले सहमति जनाएको हो ।
पछिल्लो समय सभामुख हटाउनेबारे एमाले र कांग्रेसको उच्च नेतृत्वमा सहमति बनिसकेको छ । सभामुख हटाउनेबारे कांग्रेस र एमालेबीच सहमति हुने थाहा पाएपछि शुक्रबार मात्रै प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री देउवालाई भेटेर सत्ता गठबन्धन जोगाउनेबारे छलफल गरेका थिए ।
तर, प्रचण्ड र माधव नेपालको भर नपाएका प्रधानमन्त्री देउवाले शुक्रबार राति नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका थिए ।
सभामुख सापकोटालाई हटाउने तयारी भएसँगै नयाँ सभामुखको आउने भन्ने चासोसमेत बढेको छ । सभामुखमा नेपाली कांग्रेस र नेकपा एमाले दुबैले आ–आफ्नो तयारी सुरु गरेका छन् ।
नेकपा एमालेले सभामुखमा सुवासचन्द्र नेम्वाङलगायत केही नेतालाई लैजाने रणनीति बनाएको छ । यस्तै नेपाली कांग्रेसले पनि सभामुख आफ्नो पार्टीले पाउनुपर्ने एमालेसँग प्रस्ताव राखेको छ ।
यता सभामुख सापकोटालाई हटाउने खेल सुरु भएसँगे बरु आफ्नै पार्टीबाट अर्को व्यक्तिलाई सभामुख बनाउने तर सत्ता गठबन्धन भने टुट्न नदिने रणनीतिसहित अघि बढेको पाइएको छ ।
सभामुख सापकोटालाई हटाउनै पर्ने अवस्था आएमा देव गुरुङलाई सभामुख बनाउने तयारीसहित प्रचण्डले प्रधानमन्त्री देउवासँग फेरि वार्ता अघि बढाएको स्रोतको दाबी छ ।
सभामुख सापकोटाका कारण समस्या उत्पन्न भएको कांग्रेस र एमालेको निष्कर्षका कारण माओवादी केन्द्रलाई पनि सापकोटालाई फिर्ता बोलाएर अर्को व्यक्ति पठाउने या कांग्रेसबाटै अर्को व्यक्तिलाई सभामुख बनाउने भन्नेबारे दबाब बढेको छ ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।