एमसीसी पास गर्न प्रचण्ड-माधव पनि तयार भएकै हुन् ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं। सत्ता गठबन्धन टुट्न नदिने र एमसीसी पनि अनुमोदन गर्ने पक्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल पुगेका छन् ।

दुई नेताबीचको छलफलपछि प्रचण्डले एमसीसी सहमतिको बाटोबाट अगाडि बढ्ने र गठबन्धन पनि नटुट्ने बताएका छन् ।

प्रचण्डले पत्रकारको प्रश्नमा भने, ‘गठबन्धन टुट्दैन । एमसीसी पनि सहमतिको बाटोबाट अगाडि बढ्छ ।’ प्रचण्ड र नेपालले संकल्प प्रस्ताव पारित समेत गर्ने गरी निकास निकाल्ने भएका छन् ।

एमसीसीको अस्पष्ट विषयमा संसदमा एकपक्षीय घोषणाबाट संकल्प प्रस्ताव पारित गरी एमसीसी अनुमोदन पनि गराउने तयारी गरेका छन् ।

प्रचण्ड र माधव नेपालले निकासका लागि विकल्प तयार गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन नतोड्ने गरी रोक्किएका छन् । उनी आज साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिको सूत्रसहित जाने तयारीमा थिए ।

बालकोटमा काँग्रेस नेताहरुले छलफल गरेपनि देउवा पुगेनन् । यसबाट नयाँ राजनीतिक घटना विकास भएको छ । देउवाले एमसीसी अनुमोदन गर्ने सहमति नगरे गठबन्धन तोड्ने चेतावनी दिएका थिए । त्यसपछि प्रचण्ड र माधव नेपाल लचिलो बनेका हुन् ।

यसअघि प्रचण्ड र माधव नेपालले एमसीसी अनुमोदन नगर्ने रणनीति बनाएका थिए । उनीहरुले पार्टीबाट निर्णय नै गराएका थिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !