CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीलाई ‘क्यान्सर’को अवस्थामा पुर्याइएको बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा उनले एमसीसीका विषयमा राष्ट्रवादी/राष्ट्रघाती भन्दै कित्तामा छुट्ट्याएर विषाक्त बनाइएको टिप्पणी गरे ।
एमसीसी सम्झौता गलत भए दिवंगत सुशील कोइरालापछिका प्रधानमन्त्रीहरूले नैतिक दायित्व लिँदै राजनीतिबाट सन्न्यासको घोषणा गर्नुपर्ने उनले बताए ।
“सम्मानित नेता सुशील कोइराला त बिदा भइसक्नुभयो । उहाँबाहेकका २०६६ सालयताका आठजना प्रधानमन्त्रीहरू हाम्रो पालामा यो सम्झौता अघि बढेको छ ।
जो मान्य पूर्वप्रधानमन्त्रीहरू उफ्रिरहनुभएको छ, उहाँहरूकै पालामा अघि बढेको हो,” सांसद भट्टराईले भने, “मेरो पालमा २०६८ सालमा नेपालका लागि योग्य भएको हो भन्ने जानकारी प्राप्त भएको हो ।
र, त्यसपछिका सबै प्रधानमन्त्री र मन्त्रिपरिषद्का पालामा यो अघि बढेको छ । त्यति बेला के कानमा तेल हालेर सुतेर बसेका थियौँ ? गल्ती थियो भने हामीले हिम्मत गर्नुपर्छ, राजनीतिबाट सन्यास लिऔँ ।”
हिजो सम्झौता गरेर आज विरोध गर्न नमिल्ने उनको भनाइ छ । “गल्ती हुनसक्छ । गल्ती भयो भने गल्ती भयो भनौँ । त्यसका निम्ति प्रायश्चित गरौँ ।
राष्ट्रघात भएको भए यति ठूलो काम हामीले आँखा चिम्लेर गर्न मिल्छ ? कर्मचारीले गर्यो भन्न मिल्छ ? मिल्दैन । म नैतिक दायित्व लिन्छु,” उनले भने ।
गाउँघरमा तमसुक गरिएको जस्तै ‘घोच्ने खालको भाषा’ राखिएको भए पनि राष्ट्रिय हितको पक्षमा भएकाले एमसीसी सम्झौता पारित गर्नुपर्ने उनले बताए ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।