काँग्रेसका भ्रातृ संस्थामा को–को छन् दाबेदार ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नेपाली काँग्रेसले भंग गरिएका १० वटा भ्रातृ संस्थामा नयाँ कमिटी घोषणाको तयारी थालेको छ । यसका लागि पार्टी सभापति शेरबहादुर देउवाले परामर्श गरिरहेका छन् ।

फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीभित्र सबै पक्षसँग परामर्श गरेर फागुन मसान्तभित्र तदर्थ समिति गठनको जिम्मा दिएको थियो ।

तर, योबीचमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गराउने दौडधुपले  योजनाअनुसार काम नहुँदा चैतको दोस्रो सातासम्म सबै भ्रातृ संस्थामा नयाँ कमिटी घोषणा गर्नेगरी काम भइरहेको छ ।

सभापति देउवाले पार्टी पदाधिकारीका र सम्बन्धित भ्रातृ संस्थाका पूर्वअध्यक्षसँग परामर्श गरेर तदर्थ समिति गठनको तयारी थालेको बताइएको छ । स्थानीय तह निर्वाचनअघि भ्रातृ संस्थालाई क्रियाशील बनाउन तदर्थ समिति गठनको तयारी तीव्र पारिएको नेताहरुको भनाइ छ  ।

नेविसंघबारे दोहोरो निर्णयले अलमल

०७५ फागुन १ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले नैनसिंह महर नेतृत्वको कमिटी भंग गरी तदर्थ समिति गठन गर्न निर्णय गरेको थियो । उक्त निर्णयअनुसार ०७६ माघ १६ गते राजीव ढुंगानाको नेतृत्वमा नेविसंघको तदर्थ समिति गठन भयो ।

सभापति शेरबहादुर देउवाले ढुंगाना नेतृत्वको कमिटी घोषणा गर्दा ०७५ माघ २९ गतेसम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीले १२ औं महाधिवेशनमा भाग लिन पाउने उल्लेख छ । उक्त निर्णय कार्यान्वयन गरेर त्यो ब्याचलाई नेविसंघबाट विदा गर्ने तयारी छ ।

यसो हुँदा पूर्व सहमहामन्त्री प्रेम जोशी र प्रकाश घिमिरे सभापतिको प्रबल दाबेदार रहने छन् । जोशी प्रवक्ता प्रकाशशरण महत र घिमिरे गृहमन्त्री बालकृष्ण खाण निकट मान्छिन् । यस्तै कृष्णप्रसाद सिटौला समूहबाट पूर्व केन्द्रीय सदस्य रत्नहरि ढुंगेल, नवराज त्रिपाठी र रुपा शर्मा पदाधिकारीमा समेटिने अवस्था बन्छ ।

त्रिचन्द्र क्याम्पसका नेविसंघ सभापति शान्त सिवाकोटी, नेविसंघका पूर्व केन्द्रीय सदस्य शैलेन्द्र शर्मा पौडेल, पुजन गन्दर्भको ब्याच पनि यही रहेको बुझिएको छ ।

पौडेल महामन्त्री गगन थापा निकट हुन भने गन्दर्भ पूर्वमहामन्त्री शशांक कोइरालासँग नजिक छन् । उनीहरु  पनि पदाधिकारीका बलियो आकांक्षी हुन् ।

तर ०७८ फागुन ६ गतेको केन्द्रीय कार्यसम्पादन समितिबाट नेविसंघ तदर्थ समिति उमेर हदको व्यवस्था अनुरुप गठन गर्ने निर्णय भएको छ । तदर्थ समिति गठन गर्दा नेविसंघमा ३२ वर्षे उमेर हद तोकिएको छ । त्यसैले तत्कालीन ३२ वर्ष र तत्कालको ३२ वर्ष मुनिका विद्यार्थी नेताहरुको आफू अनुकूलको लबिङ छ ।

तर तदर्थ समिति गठनमै ३२ वर्षे उमेर हद लागू हुँदा पूर्व कोषाध्यक्ष शीव रिमाल, केन्द्रीय सदस्यहरु सुशील भट्ट, मनीषजंग थापा, गीता गुरुङ, प्रेमबहादुर शाही, दुजाङ शेर्पा लगायतको दाबेदारी रहने छ ।

विद्यार्थीबीच रिमाल र भट्टको राम्रो छ । तर रिमाल रामचन्द्र पौडेल र भट्ट कृष्णप्रसाद सिटौलासँग निकट मान्छिन् । नेतृत्व सभापति देउवा लिने भएकाले गुरुङ, शाही, थापा र शेर्पा मध्ये एक जनाको नेतृत्वमा पुग्ने सम्भावना देखिन्छ ।

महामन्त्री भन्छन् – व्याख्यात्मक घोषणा बाँकी

महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्मा तत्कालको ३२ वर्ष उमेर हद लागु गरेर जानुपर्ने पक्षमा छन् । तर पार्टी सभापति देउवा र अन्य पदाधिकारीको मुड बुझेर निर्णयमा पुग्ने उनीहरुको तयारी छ ।

महामन्त्री थापाले नेविसंघबारे व्याख्यात्मक घोषणा हुन बाँकी रहेको बताए । ‘म तत्कालको ३२ वर्ष उमेर हद लागु गरेर जानुपर्ने पक्षमा छु,’ उनले भने, ‘तर केही साथीहरुलाई तत्कालको ३२ वर्ष उमेर हद लागु गरेर जाँदा नेविसंघ ड्राइभ गर्न सक्ने मान्छे छैन भन्ने छ ।’

राजीव ढुंगानाको कमिटीमा आएर काम गर्ने अवसर नपाएकाले नेतृत्व विकासमा भ्याकु पैदा भएको थापाको भनाइ छ । ‘यो आइडिया ठीक भए पनि धेरै क्रान्तिकारी हुन्छ कि भन्ने छ । त्यसलै सबै कुरा सुनेर निर्णयमा पुग्नुपर्छ भन्ने पक्षमा छु,’ उनले रातोपाटीसँग भने ।

महामन्त्री विश्वप्रकाश शर्माले चैतको मध्यसम्म भ्रातृ संस्थाको नयाँ कमिटी ल्याउने गरी काम भइरहेको बताए । ‘नेविसंघ र तरुण दलको विधानको व्यवस्था अनुसार जाने भनेर निर्णय भएको छ ।

११ औं महाधिवेशनबाट आएको कमिटी भंग गर्दा ३२ वर्ष नपुगेकालाई नेतृत्वमा ल्याउने कि तत्कालको ३२ वर्ष मान्ने भन्ने  विषयमा अब बस्ने बैठकले टुंगो गर्छ ।’ फागुन ३ गतेको केन्द्रीय कार्यसम्पादन समितिले ३२ वर्षे उमेर हदलाई सिधा सिधी निर्णय मात्र गरेको उनको भनाइ छ ।

‘तत्कालीन वैधानिक व्यवस्था हेरेरै सहमति पूर्वक नै नयाँ कमिटी आउछ । फागुन ३ गतेको निर्णयको ब्याख्यात्मक घोषणा भएको छैन ।’

तरुण दल र महिला संघमा को–को दाबेदार ?

नेविसंघपछि मुख्य मानिएको तरुण दल र महिला संघमा पनि नेतृत्वका लागि दौडधुर तीव्र छ । तरुण दलका निवर्तमान कोषाध्यक्ष विद्वान गुरुङ नेतृत्वका स्वभाविक दाबेदार मान्छिन् । तर नेविसंघको राजनीतिबाट बाहिरिएका नेताहरुलाई  तरुण दलमा समेट्ने प्रयास तयारी छ । नेविसंघका पूर्व उपाध्यक्ष्य पुष्पकुमार शाही, महामन्त्री सरोज थापा, शुभराम बस्नेत नेतृत्व नेतृत्वका आकांक्षी देखिएका छन् ।

महिला संघमा निवर्तमान महासचिव धना खतिवडा स्वभाविक दाबेदार हुन् । नेता सिटौला निकट खतिवडाको विकल्पमा देउवा पक्षबाट विनिता अधिकारीलाई हेरिएको छ । प्रसिस महरा, हरिप्रभा खड्की, विजया केसी र उषा रावत मिश्रको नाम पनि चर्चामा छ ।

यस्तै नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय समितिमा पनि नयाँ कमिटीको खोजी भइरहेको छ ।

पटक पटक म्याद थप्दा पनि महाधिवेशन गराउन नसकेपछि  फागुन ३ मा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १० वटा भ्रातृ संस्था भंग गरेको थियो । अब करिब डेढ वर्षका लागि तदर्थ समिति बनाउन लागिएको बुझिएको छ ।

अहिले बन्ने तदर्थ समितिलाई तीन तहको निर्वाचनपछि महाधिवेशन गराउने म्यान्डेट दिइने छ । विधानमा आधा कार्यकाल उनीहरुले नेतृत्व गर्न पाउने देखिएको छ । संशोधित विधानमा सबै भ्रातृ संस्थाको कार्यकाल ३ वर्ष तोकिएको छ ।

०७६ भदौमा केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वमा गठित भ्रातृ संस्थाहरूको विधान संशोधन तथा परिमार्जन समितिले नेपाल तरुण दल र आदिवासी जनजाति संघबाहेक ११ भ्रातृ संस्थाको विधानको मस्यौदा पार्टीलाई बुझाएको थियो । मस्यौदा समितिले बुझाएको विधानमा एकरूपता कायम गरिएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !