माओवादी केन्द्रिय सदस्यमा प्रचण्डका छोरी–ज्वाँई अटाएनन्

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहालले ९७ जनालाई मनोनित गर्ने प्रस्ताव गरेकोमा ५० जनाको नाम मात्रै पारित भएको छ ।

केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेका नाममध्ये ५० जनाको नाम मात्रै अनुमोदन भएको हो । काठमाडौंमा जारी केन्द्रीय समितिको सोमबारको बैठकमा दाहालले ९७ जनालाई केन्द्रीय समितिमा मनोनित गर्नुपर्ने प्रस्ताव गरेका थिए । त्यो सूचीमा दाहालकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यसमेत थिए ।

केन्द्रीय समिति सदस्यहरूले दाहाल र आचार्यलगायत ४७ जनालाई कुन आधारमा केन्द्रीय सदस्यमा मनोनित गर्न खोजेको भन्ने प्रश्न गरेका थिए ।

उनीहरूको विरोध भएपछि ५० जनाको नाम मात्रै पारित भएको हो । जसमा महाधिवेशनमा केन्द्रीय प्रतिनिधि बनेका ३७ जना, ९ जना मधेसी र ४ जना दलित समूहबाट मनोनित भएका छन् ।

आफ्नै छोरी ज्वाईँको नाम काटिएपछि अध्यक्ष प्रचण्ड भने तनावमा परेका छन् । ५० जना मनोनित भएसँगै माओवादी केन्द्रीय समिति सदस्य संख्या २ सय ९७ पुगेको छ । यसअघि २ सय ४७ सदस्यीय केन्द्रीय समिति थियो ।

केन्द्रीय समितिले कार्यविभाजन प्रस्ताव पारित गरेको ती केन्द्रीय सदस्यले जानकारी दिए । पदाधिकारी भने स्थानीय तहको निर्वाचन पछि मात्रै चयन गर्ने बताइएको छ ।

यस्तै पार्टीका महत्वपूर्ण अंग मानिने कमिटीहरु गठन गर्न नेकपा माओवादी केन्द्र असफल भएको छ । गत पुसमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनले १५ सदस्यीय पदाधिकारी चयन गर्ने जिम्मा केन्द्रीय कमिटीलाई दिएको थियो ।

महाधिवेशनलगत्तै बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेपनि उपाध्यक्ष, महासचिव, सचिव लगायतका बाँकी १४ पदाधिकारी चयन गर्न असफल भएको हो ।

शुक्रबारबाट सुरु भएको दोस्रो केन्द्रीय कमिटी बैठकमा केन्द्रीय पदाधिकारी चयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने कार्यसूची रहेपनि अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीलाई पूर्णता दिँदै बैठक समापन गर्ने तयारी गरेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !