प्रहरीको खोजीपछि युट्युबर भागाभाग, एकजना प्रहरीको नियन्त्रणमा

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं।  पत्रकारिताको न्यूनतम आचारसंहिता पनि पालना नगरी युट्युबमा जथाभाबी सामाग्री प्रसारण गरेको भन्दै प्रेस काउन्सिल र साइबर ब्युरोले खोजी सुरु गरेपछि युट्युबरको भागाभाग भएको छ ।

पल शाह प्रकरणमा देखिएको युट्युबरको अराजकतामाथि प्रहरीले एक्सन सुरु गरेपछि युट्युबरको भागाभाग भएको हो ।

मोडल तथा नायक पल शाह पक्राउ परेपछि नाबालिग पीडितको व्यक्तिगत गोपनियता पनि भङ्ग हुने गरी सामाग्री प्रसारण गरेको तथा विचाराधीन मुद्दाको अनुसन्धान प्रक्रियालाई नै असर पार्न लागेपछि प्रेस काउन्सिल नेपाल, साइबर ब्यूरो र गृह मन्त्रालयले युट्युबरमाथि एक्सन लिन लागेका हुन् ।

पल शाह पक्राउ प्रकरणमा असम्बन्धित व्यक्तिहरूको भनाई लिने, बिना सेन्सर समाचार प्रसारण गर्ने र घटनालाई अतिरञ्जित बनाएको भन्दै प्रेस काउन्सिल नेपालले फागुन २० गते नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र लेख्दै १६ वटा युट्युब च्यानलमाथि अनुसन्धान र कारबाहीको माग गरेको थियो ।

सोही दिन साइबर ब्युरोले पनि एक विज्ञप्ति जारी गर्दै युट्युबरको अराजकताविरुद्ध कारबाहीको चेतावनी दिएको थियो ।

पल शाह पक्राउ प्रकरणपछि ज्ञानेन्द्र देउजा, अनुप भट्टराई लगायतका युट्युबरहरुको टोली तनहुँमै पुगेर ‘रिपोर्टिङ’ गरेका थिए । शाह प्रकरणमा पटकपटक पीडित नाबालिगको नामको प्रयोग गरिएको, घटना र तथ्यलाई तोडमोड गरिएको, पीडितमाथि झनै पीडा थपिने गरी सामाग्री उत्पादन तथा प्रसारण गरिएको, अनुसन्धानकै क्रममा रहेको विषयलाई प्रत्यक्ष प्रभाव पार्ने गरी सामाग्रीको प्रसारण गरिएको भन्दै उनीहरूमाथि कारबाहीको प्रक्रिया सुरु गरेको थियो ।

युट्युबरमाथि निगरानी र कारबाहीको प्रक्रिया सुरु भएसँगै तनहुँबाट युट्युबरहरु भागाभाग भएका थिए । कतिपय युट्युबरले आफ्नो युट्युब च्यानलमा अपलोड गरिएका भिडियोहरू प्राइभेटमा राखेका छन् भने कतिपयले ती भिडियोहरू डिलिट नै गरेका छन् ।

भ्रमपूर्ण समाचार प्रशारण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले एकजना युट्युबरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘स्लेब नेपाल’ युट्युब च्यानल संचालक राहुल थापा छन् ।

चलचित्र अभिनेत्री रेखा थापाले दिएको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको ब्यूरोका एसएसपी नविन्द अर्यालले रातोपाटीलाई बताए ।

रेखाले राहुलसहित ३ जनाविरुद्ध आफ्नो बारेमा भ्रामक समाचार प्रशारण गरेको आरोप लगाउँदै साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । उनको उजुरपछि ब्यूरोले प्रेश काउन्सिलसँग भ्रामक समाचार प्रकाशन गर्ने च्यानलको आधिकारिकता र दर्ता सम्बन्धी विवरण मागेको थियो ।

नायिका थापाको बारेमा भ्रामक सामाग्री प्रशारण गर्ने मध्येकी शर्मिला वाइबा फरार छिन् । उनि बिरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको छ ।

बालिका बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको विषयलाई जोडेर नायिका थापाबारे युट्युव च्यानलले सामाग्री प्रशारण गरेका थिए । राहुललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमती दिएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !