माओवादीमा फेरि भयो यस्तो महाभारत ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – सोमबार सम्पन्न नेकपा माओवादी केन्द्रीय समिति बैठकले एमसीसी विवादलाई तत्काल थाती राखेर एकमतका साथ चुनावी अभियानमा होमिने निर्णय गरेको छ ।

प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्न सहमति जनाउने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णयले पार्टीमा ‘लफडा’ निम्तिएपछि मूलत: त्यसैमा छलफल गर्न केन्द्रीय समिति बोलाइएको थियो ।

तर, बैठकले चुनावसम्म एमसीसी विवाद थाती राख्ने निर्णय गरेपछि सम्भावित दुर्घटना त टर्यो,तर केन्द्रीय सदस्य मनोनयनले अर्को असन्तुष्टी चर्किएको छ ।

बैठकमा प्रचण्डले ९७ जना केन्द्रीय सदस्य मनोनयनको प्रस्ताव गर्नुभएको थियो । तर, छोरी-ज्वाईंसहित ९७ जनालाई माथ!लैजाने प्रस्ताव विवादमा पर्यो ।

शीर्ष नेताहरुले नै बिना कुनै मापदण्ड केन्द्रीय सदस्य थप्न लागिएको भन्दै प्रश्न उठाएपछि ५० जनालाई मात्र मनोनित गरेर विवाद थामथुम पारिएको छ ।

यो त पछिल्लो एउटा बैठकको एउटा उदाहरण हो । माओवादीमा यस्ता सांगठानिक अराजकताका चाङ छन्,जसलाई हल गर्न नेतृत्वले ठोस पहल गरेको देखिंदैन ।

“कुनैबेला प्रचण्डको प्रेस सल्लाहकार रहिसकेका मनहरी तिमिल्सिनाले पार्टी जीवनको २४ वर्षपछि आफूलाई सम्पूर्ण रूपले जिम्मेवारीविहीन बनाइएको भन्दै सार्वजनिक रुपमै असन्तुष्टि पोखेका ।”

दुई महिनाअघि सम्पन्न महाधिवेशनले २४६ जना केन्द्रीय सदस्य घोषणा गरेको थियो । त्यतिबेला पनि अध्यक्ष प्रचण्डले ‘खल्तीको नाम’ वाचन गरेको भन्दै चर्को आलोचना भएको हो ।

पदाधिकारी बिहीन अपुरो केन्द्रीय कमिटी घोषणा गरेर महाधिवेशन टुंग्याएको माओवादीमा अहिलेसम्म अध्यक्षबाहेकमा पद रिक्त छन् । विवादकै कारण स्थायी कमिटी, पोलिटब्युरो गठन पनि अन्योलमा परेको छ ।

पार्टीमा मात्र होइन, जनवर्गीय संगठनहरुको हालत पनि उस्तै छ । अखिल (क्रान्तिकारी), वाइसिएल र प्रेस सेन्टरमा अध्यक्ष/संयोजक बनाइएको छ तर महिनौँ बितिसक्दा पनि बाँकी पद त्यसै खालि छ ।

माओवादी विधानले सामूहिक नेतृत्वको व्यवस्था गरेको छ । केन्द्रीय कमिटीले अध्यक्षसहित पदाधिकारी चयन गर्ने विधानको व्यवस्था हो । तर,पदाधिकारी चयन हुन नसक्दा माओवादीलाई प्रचण्डको एकल नेतृत्वमा चुनावमा जानुपर्ने बाध्यता छ । अध्यक्ष प्रचण्डले आगामी चुनावमा ०६४ सालको नतिजा फर्काउने उद्घोष गर्नुभएको छ ।

तर, यस्तो लथालिङ्ग संगठन बोकेर चुनावमा जाँदा परिणाम अनुकूल नहुने हो कि भन्ने चिन्ता माओवादी कार्यकर्तामा देखिन्छ । लंगडो संगठनको बलमा चुनावी मोर्चामा सफलता प्राप्त गर्न सजिलो पक्कै नहोला !

“भूगोलमा चप्पल लगाएर संगठन गरिरहेका,जिल्ला इञ्चार्ज भइसकेका,अधिक सक्रिय र इमान्दार नेताहरू रछ्यानमा छन् । सेल कमिटी चलाउन नसक्नेहरू नेता भएका छन् । सयौं जुनियरहरू बिना मापदण्ड रातारात बढुवा हुँदा लाखौंले पीडावोध गरेका छन् ।”

केन्द्रीय सदस्य मनोनयनसम्बन्धी पछिल्लो निर्णयको केही नेताले सार्वजनिक रुपमै आलोचना गरेका छन् । कतिसम्म असन्तुष्टि चर्किएको छ भने कुनैबेला प्रचण्डको प्रेस सल्लाहकार रहिसकेका मनहरी तिमिल्सिनाले पार्टी जीवनको २४ वर्षपछि आफूलाई सम्पूर्ण रूपले जिम्मेवारीविहीन बनाइएको भन्दै सार्वजनिक रुपमै असन्तुष्टि पोखेका ।

उनले पार्टी नोकरशाही शैलीमा चलेको र पद नहुनेहरुलाई डस्ने र ह्युमिलियट गर्ने प्रवृत्ति डरलाग्दो गरी बढेको गुनासो पनि पोखेका छन् ।

‘पार्टी जीवनको २४ वर्षपछि सम्पूर्ण रूपले जिम्मेवारीविहीन भएको छु । प्रदेश समितिको जिम्मेवारीबाट गत मंसीरदेखि मुक्त छु । केन्द्रीय विभाग महाधिवेशनपछि स्वत: विघटित छ । विभागहरू पनि नामका लागि बन्छन्, कामकाजी छैनन् । ‘ब्युरोक्र्याटिक मोडेल’को पार्टीमा पद नहुनेहरूलाई डस्ने,ह्युमिलियट गर्ने प्रवृत्ति डरलाग्दो नै छ’,तिमिल्सिनाले आफ्नो फेसबुकमा लेखेका छन् ।

‘मैले केचाहिँ अपराध गरेको थिएँ ? मेरो के योग्यता पुगेन ? म कहाँ चुकेँ ? पार्टीले बरु मेरो अयोग्यता भनिदिएको भए यति धेरै तड्पिरहनु पर्दैन थियो कि ?’

यस्तो गुनासो माओवादीमा माथिदेखि तलसम्मै देखिन्छ । प्रचण्डको सचिवालयमै रहेर काम गरेका तिमिल्सिनाको त यो हालत छ भने बोल्न नसक्नेहरुको अवस्था कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ ।

पछिल्लो समय माओवादीमा नातावाद,कृपावाद र चाप्लुसीवाद यसरी मौलाएको छ कि पहुँच नहुनेले किनाराको साक्षी बन्नुपर्ने अवस्था छ । हिजोको इतिहास हेरेर होइन, हाट्टहुट्ट गर्नसक्नेहरु नेताका प्रिय बनेका छन् र अवसरमा उनीहरुले नै बारम्बार मौका पाइरहेका छन् ।

शहीद,बेपत्ता परिवार,जनमुक्ति सेनाका लडाकू,घाइते अपाङ्ग र इमान्दार कार्यकर्ता किनारामा पारिएपछि माओवादीप्रतिको आकर्षणसमेत घट्दो छ ।

तिमिल्सिनाले त चुनौती नै दिएका छन् -“प्रत्येक कार्यकर्ताको व्यक्तिगत फाइल खडा गरेर न्यायोचित कार्यसम्पादन मूल्यांकन कि खुल्ला निर्वाचनबाहेक तेस्रो विकल्प छैन ।’

तर,पार्टीले यी दुवै चीज नगरेको तिमिल्सिनाको दुखेसो छ । सिष्टम बनाएर पार्टी नचलाउनुको परिणाम अहिले भोग्नु परेको भन्दै उनले भनेका छन्, ‘सयौं सिनियर आदरणीय नेताहरू भूमिकाविहीन हुनुहुन्छ ।

भूगोलमा चप्पल लगाएर संगठन गरिरहेका,जिल्ला इञ्चार्ज भइसकेका,अधिक सक्रिय र इमान्दार नेताहरू रछ्यानमा छन् । सेल कमिटी चलाउन नसक्नेहरू नेता भएका छन् । सयौं जुनियरहरू बिना मापदण्ड रातारात बढुवा हुँदा लाखौंले पीडावोध गरेका छन् ।

तिमिल्सिनाजस्तै पछिल्लो निर्णयले निराश भएका अर्का नेता हुन् – तत्कालीन जनमुक्ति सेनाको बटालियन कमाण्डर गोविन्दबहादुर बटाला । उनले पनि केन्द्रीय सदस्य मनोनयनको आधारमाथि प्रश्न उठाएका छन् । पार्टीको निर्णयले आफू रातभरि सुत्न नसकेको भन्दै उनले चित्त बुझाउने ठाउँ नभेट्टाएको बताएका छन् ।

‘रातभरि धेरै सोचेँ,गला अवरुद्ध भयो,निदाउन पनि सकिन । जुनसुकै एङ्गलबाट नापेर हेर्दा पनि यति धेरै अपमानित भएर बस्नुपर्ने परिस्थितिको सामना गर्नुपर्नाको कारण न त मैले पत्ता लगाउन सकेँ न त चित्त बुझाउने ठाउँ नै कतै भेट्टाएँ’,उनले पनि आफ्नो फेसबुकमा लेखेका छन् ।

“पत्रकार महासंघको अध्यक्ष भैसकेका गोविन्द आचार्यलाई केन्द्रीय सदस्य नबनाएकोमा पनि प्रेस सेन्टरका केही नेताले गुनासो गरेका छन् ।”

बटालाले केन्द्रीय सदस्य बन्न आफ्नो योग्य कसरी नपुगेको हो भन्ने नै बुझ्न नसकेको टिप्पणी गरे । भन्छन्, ‘मैले केचाहिँ अपराध गरेको थिएँ ? मेरो के योग्यता पुगेन ? म कहाँ चुकेँ ? पार्टीले बरु मेरो अयोग्यता भनिदिएको भए यति धेरै तड्पिरहनु पर्दैन थियो कि ?’ पार्टीले विधि र पध्दतिबाट संगठन निर्माण नगर्दाको दुर्दशा आज भोग्नु परेको पीडा पनि पोखेका छन् ।

यता,लामो समय माओवादीको प्रेस मोर्चामा काम गरेका र पत्रकार महासंघको अध्यक्ष भैसकेका गोविन्द आचार्यलाई केन्द्रीय सदस्य नबनाएकोमा पनि प्रेस सेन्टरका केही नेताले गुनासो गरेका छन् ।

प्रेस सेन्टरबाट उनीभन्दा जुनियरहरु केन्द्रीय कमिटीमा पुग्दा स्वभाविक दावेदार रहेका उनलाई कर्नरमा पारिएको भन्दै सामाजिक सञ्जालमा यस्ता गुनासा सार्वजनिक भएका हुन् ।

शान्ति प्रक्रियामा आएको झण्डै १५ वर्षको अवधिमा माओवादी झन् झन् कमजोर बनिरहेको छ । त्यसयता तीन वटा चुनाव लडेको माओवादीको भोट क्रमश: घटिरहेको छ ।

सांगठानिक व्यवस्थापनमा भन्दा व्यक्ति व्यवस्थापन गर्ने प्रवृत्ति हावी हुँदा यस्तो परिस्थिति भोग्नु परेको माओवादी केन्द्रका एक नेताले बताए । नेताका निकट र मन पराएकालाई टपक्क टिपेर जिम्मेवारी दिने प्रवृत्तिले आगामी चुनावमा पनि क्षति पुग्ने त होइन भन्ने चिन्ता बढेको उनले दुखेसो गरे ।

राजनीतिक एजेण्डाको नेतृत्व गर्दागर्दै पनि चुनावी परिणाम पार्टीको पक्षमा नआउनुमा नेतृत्व नै मुख्य दोषी रहेको ती नेताको भनाइ छ । हुन पनि पछिल्लो राजनीतिक परिवर्तनको संवाहक शक्ति माओवादी नै हो ।

गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता, समावेशी प्रतिनिधित्वजस्ता राजनीतिक आन्दोलनका उपलब्धिमा माओवादी नेता-कार्यकर्ताको बढी रगत पसिना खर्चिएको यथार्थ हो ।

तर,माओवादी पार्टी भने दिनानुदिन खिइँदै गएको छ । एकपछि अर्को झट्का खाँदा पनि नेतृत्व सुध्रिनेभन्दा सक्किने दिशामा अग्रसर भएको भन्दै आमकार्यकर्ता तहसम्मै गुनासो व्याप्त छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !