CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्टले पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।
आज शुक्रवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै सांसद विष्टले माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्य–मान्यता विपरीत संसदबाट एमसीसी पारित गर्न सहयाेग गरेकाले आफूले पार्टी परित्याग गरेको बताउनुभयो ।
ठम्मरबहादुर विष्टले पार्टीको जिम्मेवारी सहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको बताउनुभयो ।
सांसद विष्टले पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई विरोध गर्न सडकमा उतार्ने र आफूले पर्दा पछाडि अनेक खालका चलखेल गरेको आरोप लगाउनुभयो ।
पार्टी भित्र रचनात्मक आलोचना मार्फत पार्टीलाई रूपान्तरण गर्न हदैसम्म प्रयास गर्दा पनि सफल हुन नसकेको सांसद तथा प्रमुख सचेतक विष्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो राजनीति, सिद्धान्त, दर्शन, मूल्य, मान्यताभन्दा धेरै पर पुगेर राष्ट्रघाती एमसीसी पारित गर्न पार्टी सहभागी भएको हुनाले पार्टी परित्याग गर्ने घाेषणा गर्दछु । हामीले विरोध पनि गरिराख्ने, भत्ता पनि खाइराख्ने गर्नु हुँदैन । त्यसैले यो सबै कुराबाट मैले राजीनामा दिनुपर्छ ।’
उहाँले कर्णाली प्रदेशमा पार्टीले आसेपासे र सरकारमा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेकाले पनि प्रदेश सभामा बस्न उचित नलागेको बताउनुभयो ।
माओवादीले पार्टीको चेन अफ कमान्डको नाममा संसदीय दलको अधिकार क्षेत्रलाई समेत हस्तक्षेप गर्ने गरको उहाँले आरोप लगाउनुभयो ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।