CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
सङ्खुवासभा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आउँदो चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने बताउनुभएको छ ।
आज मङ्गलवार सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो ।
उहाँले नेपालमा अन्य पार्टीको तुलनामा देश र जनताको पक्षमा राम्रा कामहरू कांग्रेसले गरेकाले उसकै पक्षमा बहुमत आउने बताउनुभयो ।
महामन्त्री शर्माले कोरोनाको महामारीमा जनताले हाच्छिउँ गरेर कोरोना भाग्छ भन्नेलाई मत दिने कि जनताका लागि खोप दिइ जीवन बचाउनेलाई मत दिने भन्ने सचेत मतदाताले छुट्टाउने भएकाले कांग्रेसको पक्षमा मत आउने दाबी गर्नुभयो ।
‘एमसीसीको पक्षमा मौन बस्ने र विरोध जनाउनेलाई मत दिने कि एमसीसी परियोजनामार्फत आममानिसको समृद्धि हुन्छ भन्नेलाई मत दिने भन्ने आम मतदाताले छुट्टाउनेछन् ।
कांग्रेस आफैँले सरकारमा रहेर चुनाव गराउँदा २०१५ साल, ४८ र ५६ सालमा बहुमत ल्याएको थियो । २०६४ र ७० सालमा दोस्रो पार्टी हुन पुगे पनि जनताको पक्षमा राम्रो काम गर्ने पार्टी कांग्रेस नै रहेछ भन्ने जनताले बुझिसकेका छन् । आउँदो चुनावमा कांग्रेसले बहुमत प्राप्त गर्नेमा कुनै शङ्का नै छैन’, उहाँले भन्नुभयो ।
आउँदो चुनावमा कांग्रेस गठबन्धनसहित अगाडि बढ्छ कि एक्लै चुनाव लड्छ भन्ने विषयमा केन्द्रीय समितिको बैठकले टुङ्गाउने महामन्त्री शर्माले बताउनुभयो ।
गएको चैत २९ गतेदेखि नेपाली कांग्रेसले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गरेको सन्दर्भमा प्रशिक्षण दिन महामन्त्री शर्मा सङ्खुवासभा आउनुभएको हो ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।