समय सीमित छ, गर्नुपर्ने काम धेरै छ : मन्त्री रामकुमारी झाँक्री

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाण्डौ – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । उहाँले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत साधनबाट काम गरिरहेको बताउनुभयो ।

मन्त्रालयमा आज शुक्रवार एसियाली विकास बैंक (एडीबी) का प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले एडीबीको सहयोगमा चालु योजना द्रुतगतिमा अघि बढाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीसँग समय सीमित छ, गर्नुपर्ने काम धेरै छन् । एडीबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिटो होस् हाम्रो चाहना छ ।’

मन्त्री झाक्रीले राष्ट्रिय सहरी नीति परिमार्जन तथा सहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउँदै यसले सङ्घीयताअनुसारका सहरीकरणका परियोजनामा सहकार्य गर्ने बाटो खोल्ने बताउनुभयो ।

उहाँले नेपालमा लगानी गर्न सकिने थुप्रै क्षेत्र रहेको र सीमित स्रोत साधनमा काम गरिरहेको बताउनुभयो । ‘विकास निर्माणका धेरै आयोजनामा काम भइरहेका छन्, हामीसँग सीमित बजेट हुँदा धेरै काम गर्न सकिरहेका छैनौँ’, उहाँले भन्नुभयो ।

छलफलमा एडीबीको दक्षिण एसिया विभागका महानिर्देशक केनिचि योकोयामाले मन्त्रालयसँग आफू सधैँ सहकार्य गर्न तयार रहेको बताउँदै नेपालले समयमै काम सक्नमा ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले गुजरात मोडलअनुसार अब बन्ने सहरीकरणका परियोजना बनाउन सुझाव दिनुभयो । अहिले एडीबीको लगानीमा नेपालमा भइरहेका कामको समीक्षा र भविष्यमा लगानीको सहकार्य गर्न सकिने क्षेत्रबारे कार्यक्रममा छलफल भएको सहसचिव तथा मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहराले जानकारी दिनुभयो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !