ओलीको पार्टीलाई उत्तानो पार्न सफल भयौं : अध्यक्ष माधव नेपाल

नुवाकोट : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओली र उनको दल संविधान र लोकतन्त्रविरोधी भएको आरोप लगाएका छन्। ओली र उनको दल नेपाली जनताले लामो संघर्षपछि ल्याएको संविधानलाई तहसनहस पार्न उद्यत रहेको नेपालको आरोप छ।

नुवाकोटको विदुरमा मंगलवार समाजवादी प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले ओली प्रतिगामी भएको र दक्षिणपन्थीको शरणमा पुगेको आरोप लगाए। आफ्नो दललाई ओली पक्षले होच्याउने गरेको बताउँदै अध्यक्ष नेपालले संविधानको उपलब्धी र गणतन्त्रलाई तहसनहस पार्न ओलीले ससंद विघटन गरेर प्रतिगामी कदम चालेको उनको आरोप छ।

नेपालले मुलुकमा घोषित मितिमै देशमा स्थानीय तहको निर्वाचन हुने र यसमा आफ्नो दलले मन र विचार मिल्ने शक्तिसँग चुनावी तालमेल गर्ने बताए। उनले पाउ लागि र सानोठूलो नभई समान हैसियत अनुसारमात्र चुनावी तालमेल हुने बताए।

प्रतिगामीलाई परास्त गर्न सबै खालको परिस्थितिको सामना गर्दै अतिवादी नभई आवश्यकताका आधारमा चुनावी तालमेल गरिने नेपालको भनाइ छ। उनले शक्तिको उचित मुल्यांकन गर्दै अबको निर्वाचनमा स्वाभिमानका आधारमा जनतामाझ जाने तयारी भएको बताए।

ओलीको दम्भ हटाउनका लागि पनि वाम र लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुपर्ने उनको भनाइ छ। नेता नेपालले ६ महिनामा आफ्नो दल वयस्क भएको र यसबीचमा भएका राष्ट्रिय सभालगायतका विभिन्न शक्ति केन्द्रमा ओलीको पार्टीलाई उत्तानो पार्न सफल भएको बताए।

ओली प्रतिगामी चरित्रको नमूना र परिवर्तनका वाहक नभई अहंमताको परिचय भएको उनको भनाइ छ। ओलीको अहंमतासँग अघाएर देशमा उनको पार्टी कमजोर भइसकेको पनि नेपालले दाबी गरे।

नेपालले पार्टीमा उत्साह देखिएको दाबी गरे। जनताले नेकपा (एस) बाट ठूलो अपेक्षा गरेका बताउँदै अध्यक्ष नेपालले जनताको आशामा इमानदारिता, निष्ठा र समर्पणको भावनाले अगाडि बढ्न नुवाकोटका नेता कार्यकर्तालाई आग्रह गरे।

ओली सबै ठाउँमा पराजित भइसकेको दाबी गर्दै एमाले परित्याग गरेर नेकपा (एस) मा प्रवेश गर्नेको लहर चलेको पनि दाबी गगरे। एमसीसी जनताको हितमा भएका कारण पारित गरिएको पनि बताए।

एमसीसीको विषयमा एमालेले भित्रभित्रै साँठगाँठ गरेको पनि आरोप लगाए। आफ्नो दलभन्दा ओलीको दल सत्तावादी रहेको अध्यक्ष नेपालको आरोप छ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !