विश्व फिल्म इतिहासमा पहिलो फिल्म (फस्ट पार्ट) नबन्दै सिक्वेल ‘गोर्खा वारियार २’ निर्माण घोषणा

बेलायतको सैनिकमा भर्ती भई सेवा गरेका नेपाली वीर गोर्खाली सैनिकको वीरताको गाथा देखाउने नेपाली चलचित्र ‘गोर्खा वारियार २’ निर्माण गरिने भएको छ ।

मंगलबार नेपालको राजधानी काठमाडौंको लाजिम्पाट स्थित होटल रेडिसनमा एक कार्यक्रम गर्दै उक्त चलचित्र निर्माण घोषणा गरिएको हो । कार्यक्रममा मृतक गोर्खाली सेनाहरुलाई श्रद्धाञ्जली स्वरुप सशस्त्र प्रहरीको एक टुकुडीले विगुल फुकेर कार्यक्रमको सुरुवात गरिएको थियो ।

लन्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई मिलन चाम्सले निर्माण तथा निर्देशन गर्दैछन् । मिलन चाम्स स्वयम् नै निर्माता रहेको चलचित्रमा सहनिर्माताको रुपमा सुरेश राई र पूर्ण लिम्बू रहेका छन् ।

चलचित्रमा रेविका गुरुङ, विजय लामा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रेअर राई, सारा राई, कविता आले, भुवन सिंह राई र विरुप घले लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा रितेश चाम्सले डेब्यु गर्दै छन् ।

मिलन चाम्सले तयार पारेको कथामा पटकथा तथा संवादभने गिरीराज घिमिरेले लेखेका हुन् । उनै घिमिरेले चलचित्रमा सहनिर्देशन गर्दै छन् । चलचित्रमा सुदिप बरालको छायांकन, अर्जुन जिसीको सम्पादन र हिमाल केसीको द्धन्द्ध निर्देशन रहने छ । सशस्त्र प्रहरी प्रमुख सैलेन्द्र खनालले लेखेको गीतमा एलिश कार्कीको संगीत र राजेश पायल राईको स्वर रहनेछ ।

भाग एक बन्नु अगाडिनै छायांकन गर्न लागिएको चलचित्रलाई मलेसिया, बेलायत र नेपालको सोलुखुम्बुमा छायांकन गरिने छ । चलचित्रको पहिलो भागको लागि ठुलो बजेट चाहिने हुँदा दोश्रो भागलाई पहिला निर्माण गर्न लागेको निर्देशक चाम्सले जानकारी दिएका छन् ।

युद्धमा ज्यान गुमाएका गोर्खाली सेनाको कथालाई समावेश गरेर बनाइने चलचित्रमा गोर्खाली वीरहरुको वीरताको कहानी देख्न सकिनेछ ।

बेलायतमा २ सय बर्ष पुरानो वीर गोर्खालीको इतिहासलाई मध्यनजर गर्दै उनीहरुको साहस र वीरताको गाथा उक्त चलचित्रमा हुने निर्माण कर्ताले जनाएका छन् ।यस चलचित्रले नेपाली वीर गोर्खालीको शान र इज्जत अझै बढ्ने र देशविदेशमा झनै प्रचार हुने आशा राखिएको छ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !