सिनेमा हलमा चलिरहेको ‘महापुरूष’ कस्तो छ अहिले?

काठमाडौँ

महापुरूष भन्नेबित्तिकै कुनै क्षेत्रमा महान काम गरेको व्यक्ति भन्ने बुझिन्छ।

प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरूष’ ले मुख्य पात्रको महानता देखाउँछ होला भन्ने भान हुन्छ। तर यो एक साधारण व्यक्तिको एक्लोपनको कथा हो।

आदर्शनगर टोलमा एकल बुबा बालकृष्ण क्षत्री (हरिवंश आचार्य) बस्छन्। श्रीमती बितेको २१ वर्षसम्म पनि अर्काे विवाह नगरी बसेका उनी आदर्शनगरकै ‘आदर्श’ व्यक्ति हुन्।

उनका दुई छोरा छन्– विदुर (रविन्द्रसिंह बानियाँ) र विज्ञान (अरूण क्षत्री)।

बालकृष्ण आफ्नो कान्छो छोरासँग बस्छन् भने जेठा छोरा आफ्नी श्रीमती र छोराछोरीसँग छुट्टै बस्छन्।

जेठा छोरा विदुर आफ्नो आदर्श बाबुको सम्मानमा ‘भगवान जस्ता मेरा बा’ नामक पुस्तक प्रकाशन गर्ने तयारीमा छन्। कान्छो छोरा विज्ञानको चाहिँ एउटै सपना छ, विदेश जाने।

कलाकार बनेर होस् या बिहे गरेर, उनलाई जसरी पनि अस्ट्रेलिया पुग्नु छ। यही क्रममा प्रतिष्ठा (अन्जना बराइली) सँग उनको भेट हुन्छ र उनीहरूको विवाह पक्का हुन्छ।

यता बालकृष्णलाई रोगले सताउन थाल्छ। एक्लोपनकै कारण उनी रोगले ग्रसित भएको डाक्टरको ठम्याइ छ। उनलाई डाक्टरले फिल्म वा नाटक हेर्न सुझाउँछन्।

उनी डाक्टरको सुझावबमोजिम आफ्नै साथीको नाटकघरमा नाटक हेर्न जान थाल्छन्। त्यसै क्रममा नाटक घरमै काम गर्ने एक युवती (गौरी मल्ल) सँग उनको भेट हुन्छ। वैचारिक मेलका कारण उनीहरू नजिकिन्छन्। एक्लोपनमा रूमल्लिइरहेका बालकृष्णले साथी पाउँछन्।

तर के बालकृष्ण र नाटकघरमा काम गर्ने युवतीको निकटतालाई समाज वा उनकै छोराहरूले स्वीकार गर्लान्?

‘महापुरूष’ को कथा यही प्रश्न वरिपरि घुम्छ।

कमेडी फिल्म बनाउन माहिर निर्देशक प्रदीप भट्टराई तथा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी भएपछि फिल्मले हसाउँछ भन्ने आशा लिएर जानुभयो भने तपाईंले त्योभन्दा फरक अनुभव पाउनु हुनेछ। यो फिल्म हाँसोभन्दा एकल बाबुको भावनासँग जोडिएको छ।

निर्देशकले भावना र हास्यरसबीच कुशल संयोजन गर्न सकेका भए त्यसले अब्बल नतिजा ल्याउँथ्यो। तर महापुरूष यसमा चुकेको छ। कुनैकुनै दृश्यले दर्शकलाई भावुक बनाउनै लाग्दा त्यसमा एकाएक हास्यरस मिसाउन खोजिएको छ। यसले दर्शकलाई हाँसो उठ्नुको साटो झर्काे लाग्न सक्छ।

फिल्मको सुन्दर पक्ष भनेको संवाद र कलाकारहरूको अभिनय हो। फिल्मलाई हिट बनाउन भड्किलो संवाद प्रयोग गरिएको छैन। धेरैजसो संवाद सान्दर्भिक र सटिक छन्।

फिल्ममा ‘बा’ र ‘बेमौसमी’ बोलको गीत राम्रोसँग प्रयोग गरिएको छ। यी गीतले फिल्मको भाव राम्ररी प्रस्तुत गर्न सहयोग गरेको छ।

हरिवंश आचार्यले उत्कृष्ट अभिनय गरेका छन्। एकल बुबाको पात्रमा उनी ‘फिट’ छन्। उनको पात्रले दर्शकलाई भावुक बनाइरहन्छ। रविन्द्रसिंह बानियाँको अभिनय पनि राम्रो छ। यही फिल्मबाट डेब्यू गरेकी अन्जना बराइलीको अभिनय सामान्य लाग्छ भने अरूण क्षत्रीले तारिफयोग्य काम गरेका छन्। अन्य कलाकारको अभिनय पनि सन्तोषजनक छ।

गौरी मल्लले राम्रो अभिनय गरेकी छन्। तर उनको पात्र निर्माणमै दुबिधा देखिएको छ। उनलाई चञ्चले, निडर र रमाइलो गर्नुपर्ने मान्छेका रूपमा प्रस्तुत गरिएको छ। तर एक फोन कलमार्फत् धम्की आउँदा उनी यति डराउँछिन्, उनी मध्यरात अरूको घर जानसम्म तयार हुन्छिन्।

फिल्ममा प्रतिष्ठा (अन्जना) बाबुको भूमिकामा मदनकृष्ण श्रेष्ठ देखिएका छन्।

श्रीमती बितेको २१ वर्षसम्म अर्काे बिहे नगरी बसेका बालकृष्ण (हरिवंश) का प्रशंसक हुन् मदनकृष्ण। उनले छोरीको बिहेको कार्डमा समेत आदर्शनगर निवासी ‘महापुरूष बालकृष्ण क्षत्री’ भनेर सम्बोधन गरेका छन्।

यसबीच बालकृष्ण नाटकघरमा काम गर्ने युवतीसँग नजिकिएको थाहा पाएपछि उनी त्यस घरमा आफ्नी छोरीको बिहे नगर्ने निर्णयमा पुग्छन्।

यहाँ मदनकृष्णको जीवनको ट्विस्ट देखाइन्छ तर त्यसले फिल्ममा केही प्रभाव पार्दैन। कथा राम्रो हुँदाहुँदै पनि ट्विस्टलाई जोड्न नसक्नु फिल्मको कमजोरी हो।

फिल्मको छायांकन सामान्य छ भने सम्पादन फितलो छ। गौरी मल्लले नाटकको तयारी गर्दैगर्दा हाँसो लागेकोजस्ता थुप्रै दृश्य सम्पादन गर्ने ठाउँ छ।

फिल्मको क्लाइमेक्स पनि त्यति वजनदार छैन।

‘जात्रा’, ‘शत्रु गते’ र ‘जात्रै जात्रा’ जस्ता फिल्म निर्देशन गरिसकेका प्रदीप भट्टराईबाट योभन्दा राम्रो फिल्म आशा गर्न सकिन्छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार