पाइलट रितेश चाम्स पाइलटीङ्ग छाडेर चलचित्रमा करियर बनाउदै

बेलायतमा बस्दै आएका रितेश च्याम्स २ सय बर्ष पुरानो इतिहास बोकेको पूर्व गोर्खा सैनिककै घरानाका सेलिव्रेटी हुनुहुन्छ । पुर्खादेखि गोर्खालीले ब्याटलफिल्डमा देखाएको वीरता र साहसलाई उहाँले अहिले चलचित्रमा प्रस्तुत गर्दै हुनुहुन्छ ।जसको लागि उहाँ अहिले नेपालका विभिन्न ठाँउमा व्यस्त हुनुहुन्छ ।

‘पेशाले म पाइलट हुँ, तर वीर गोर्खालीको रुपमा चलचित्रमा देखिन पाउँदा अभिनयको बाटो शुरू गरेँ’, रिल माण्डुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘यो मेरो पहिलो चलचित्र हो, अब यसैबाट करियर बनाउन लागि पर्दैछु ।’

‘गोर्खा वारियर २’ नाम दिइएको उक्त नेपाली चलचित्रबाट डेब्यू गर्दै रितेशले चलचित्रको यात्रा शुरू गर्नुभएको छ। ‘मैले अभिनय गर्ने यो पहिलो चलचित्र हो’, उहाँले भन्नुभयो, ‘पेशाले म एक पाइलट पनि हुँ, तर म वीर गोर्खाली सिपाहीको भूमिकामा देखिन पाउँदा निकै हर्षित छु ।’

जन्म काठमाडौँमा भएपनि हाल उहाँ बेलायतमा बस्नुहुन्छ । काठमाडौँमा नेपाली चलचित्र तथा नाट्या क्षेत्रका शीर्ष गुरू भनेर सम्मानित सुनिल पोखरेलबाट उहाँले अभिनय कक्षा सिक्नुभयो । बेलायतमा गएर उहाँले अभिनयमा मास्टर्स डिग्री समेत हासिल गरिसक्नुभएको छ ।

‘नेपालबाट सिकेको अभिनय कलालाई बेलायत आएपछि थप बलियो बनाई सिक्ने मौका पाएँ,’ उहाँ भन्नुहुन्छ, ‘सुनिल पोखरेल मेरो गुरु हुनुहुन्छ, यहाँ लण्डनमा धेरैजनाले मलाई तालिम दिनुभयो ।’

लण्डनमा पहिलो पटक रितेशले ‘समय दृष्य’ नामको नेपाली नाटकमा अभिनय गर्नुभएको थियो । त्यसपछि उहाले कैयौँ म्यूजिक भिडियो र नाटकहरुको पर्दामा देखिइसक्नुभएको छ । मिलन चाम्ससँग काम गर्न पाउँदा रितेशलाई आफू भाग्यमानी भएजस्तै लागेको छ ।

‘मैले आफूलाई गोर्खालीको फिल्म खेल्न पाउँदा भाग्यमानी ठानेको छु’, उहाँले भन्नुभयो, ‘त्यसैमाथि मिलन च्याम्स त मेरो गुरु आदरणीय निर्देशक, उहाँकै कारणले यो उर्जा आएको छ, उहाँप्रति म निकै कृतज्ञ छु ।’उहाँसंग काम गर्दै गर्दा आफूले पाएको क्यारेक्टरलाई न्याय दिन सक्नु नै ठूलो चुनौति लागेको छ ।

‘गोर्खालीको नामै काफी छ । जल, थल, आकाश तीनवटैमा नाम अनुसारको काम गर्न चुनौती छ। त्यसकारण पनि यसमा म अथक मिहेनत गर्छु। भूमिकालाई न्याय दिन्छु ।’ उहाँले भन्नुभयो ।

सात बर्षदेखिको तयारी

उहाँले विगत ७ बर्षदेखि गोर्खा वारियर २ को तयारी गरिरहेको बताउनुभयो । सानै उमेरदेखि अभिनयमा रूची थियो,’ उहाँ भन्नुहुन्छ । ‘गोर्खा वारियर २ अत्यन्तै महत्वाकांक्षी मुभी हो, ७ बर्षदेखि यसको तयारी गरिरहेको थिएँ।’

‘गोर्खा वारियर २’ नेपाल, लण्डन र मलेसियाका विभिन्न ठाँउहरुमा सुटिङ्ग गरिदैछ । गोर्खालीहरुले जल, स्थल र वायुमा दोखाएको वीरतालाई जस्ताको तस्तै चलचित्रमा उतार्ने गरी निर्माण हुनेछ । नेपालको सोलुबाट चलचित्र छायांकनको क्रम शुरू भइसकेको छ । २८ गतेबाट नियमित रुपमा चलचित्र खिच्ने काम शुरु भइसकेको भन्दै उहाँले करिब एक महिनामा पहिलो चरणको शुट सकिने जानकारी दिनुभयो ।

‘वीर नेपाली गोर्खाजहरुले जल, थल, वायु हिमालमा बहादुरी देखाइसकेका छन्, त्यसैले सोही भूमिकामा देखिने गरी सबै क्षेत्रका तयारी गरिरहेको छु’, उहाँले भन्नुभयो ।

उहाँले अफ्रिकाको केन्या, इन्डियन ओसनमा पानीमा डाइभ हान्ने एडभान्स कोर्स पूरा गर्नुभएको छ । मार्सल आर्टसमा अब्बल उहाँ हवाईको तालिम लिनुभएको छ । त्यस्तै लण्डनमा प्याग्लाइडीङ्ग गर्नुभएका उहाँ स्काई डाइभ गर्नमा पनि निपूर्ण हुनुहुन्छ ।

उहाँ विश्वको सबैभन्दा अग्लो चुचुरोमा पनि पुगिसकेको बताउनुहुन्छ । यूकेका अग्ला हिमाल हुँदै माउन्ट क्लब, इटरी माउन्ट ग्रान्ड पाराडाइज हुँदै नेपालको मनास्लु र सगरमाथा पनि आरोहण गरेको उहाँको अनुभव छ ।

‘म पेशाले पाइलट पनि हो, यूकेबाट अमेरिकाको फ्लोरिडासम्म पाइलटिङ्ग गरेको थिएँ’, उहाँले भन्नुभयो, ‘वीर गोर्खालीको फिल्म पाएपछि पाइलटिङ्गलाई एकैछिन थाँति राखेर यता होमिएँ ।’

रितेशको कलाकौशललाई नेपाल चलचित्र कलाकार संघ यूकेकी अध्यक्ष रोमियन लिम्बूले खुलेर प्रशंसा गर्नुहुन्छ । ‘रितेशमा चलचित्रको ठूलो पोटेन्सियल छ’, उहाँले भन्नुभयो, ‘यो चलचित्रले उनलाई नेपाली चलचित्रको शिखरमा पुर्याउनेमा कुनै शंका छैन् ।’

उहाँले रितेशले आफूले पाएको क्यारेक्टरलाई पूर्ण रुपमा न्याय दिनेमा विश्वस्त रहेको बताउनुभयो । अध्यक्ष लिम्बूले नेपाली गोर्खाहरुको साहसिक कथालाई आधार मानेर बनाउन लागिएको उक्त चलचित्रले गोर्खालीको शान अझै बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

फिल्मको कथाबस्तु दोस्रो विश्व युद्धपछि १९५६ मा गोर्खालीहरुले ब्रिटिश गोर्खा सैनिकको रुपमा ब्रुनाई र मलेसियामा देखाएको वीरतालाई प्रस्तुत गरिएको छ । युद्धको क्रममा पानी, जमिन देखि हिमाल आरोहण गर्दा उनीहरुले पाएका कठिनाईहरु मुभीमा प्रस्तुत हुनेछन् ।

रितेशलाई अभिनेत्री रेविका गुरुङले साथ दिनुहुनेछ । त्यसैगरी क्याप्टेन विजय लामा, एक्टर बुद्धि तामाङ, रेयर राई, सारा लोरुङ राई, कविता आले, शिशिर बाङदेल पनि उक्त चलचित्रको पर्दामा देखिनुहुनेछ । लन्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई मिलन चाम्सले निर्माण तथा निर्देशन गर्दैहुनुहुन्छ । मिलन चाम्स स्वयम् नै निर्माता रहेको चलचित्रमा सहनिर्माताको रुपमा सुरेश राई र पूर्ण लिम्बू रहनुभएको छ ।

मिलन चाम्सले तयार पारेको कथामा पटकथा तथा संवादभने गिरीराज घिमिरेले लेख्नुभएको हो । उनै घिमिरेले चलचित्रमा सहनिर्देशन गर्दै हुनुहुन्छ । चलचित्रमा सुदिप बरालको छायांकन, अर्जुन जिसीको सम्पादन र हिमाल केसीको द्धन्द्ध निर्देशन रहने छ । सशस्त्र प्रहरी प्रमुख सैलेन्द्र खनालले लेखेको गीतमा एलिश कार्कीको संगीत र राजेश पायल राईको स्वर रहनेछ ।

यसअघि गोर्खा वारियर १ को पनि २० प्रतिशत जति सुट भइसकेको छ । महामारीको कारण ले गर्दा अहिलेलाई सो चलचित्र निर्माण रोकिएपनि यो चलचित्र बनाइसकेपछि शुरू हुने निर्माणकर्ताले जनाएका छन् । चलचित्रको पहिलो भागको लागि ठुलो बजेट चाहिने हुँदा दोश्रो भागलाई पहिला निर्माण गर्न लागेको निर्देशक चाम्सले जानकारी दिनुभयो ।

निर्देशक चाम्सले युद्धमा ज्यान गुमाएका गोर्खाली सेनाको कथालाई समावेश गरेर बनाइएको चलचित्रमा गोर्खाली वीरहरुको वीरताको कहानी देख्न सकिने बताउनुभयो । ‘बेलायतमा २ सय बर्ष पुरानो वीर गोर्खालीको इतिहासलाई मध्यनजर गर्दै उनीहरुको साहस र वीरताको गाथा चलचित्रमा उतार्दै छौँ, आशा छ, यो चलचित्रले सबैको साथ पाउनेछ,’ उहाँले भन्नुभयो ।

केही हप्ता अघि काठमाडौंको लाजिम्पाटस्थित होटल रेडिसनमा एक कार्यक्रम गर्दै गोर्खा वारियर २ चलचित्र निर्माण घोषणा गरिएको थियो ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !