गायिका जेरीको आमा बुवा मिडियामा, खोले भित्रि रहस्य !

काठमाडौं ।

लोकप्रिय दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ ले श्रीमान शंकर क्षेत्रीसँग छुट्टिनुको कारणबारे वेदनापूर्ण बयान दिएकी छन् । एक अन्तर्वार्तामा उनले आफूलाई शंकरले विवाहदेखि नै शारीरिक र मानसिक यातना दिएको सुनाइन् ।

के के भनिन् त जेरीले अन्तर्वार्तामा ? उनकै शब्दमाः: उहाँ दुबईमा छँदा मेरो उहाँसँग गायक प्रदीप रोकामार्फत (मैले टीका लगाएको दाइ) मार्फत चिनजान भएको हो । हामी भिडियोमा लामो–लामो कुरा गर्थ्यौं । म उहाँप्रति आशक्त बन्दै गएँ ।

उहाँ पनि मप्रति माया देखाउनुहुन्थ्यो । हामीबीच भिडियो कलमै प्रेम सुरु भयो । उहाँलाई मैले नेपालमै केही गरौं भनेर आग्रह गरेर बोलाएको हुँ । २०७२ सालको माघ-फागुनबाट बोल्न थालेको हो । मलाई आफूले खोजेको जस्तै मान्छे पाएको महसुस भएको थियो ।

उहाँ नेपाल आएपछि २०७३ साल असोजमा हाम्रो पहिलोपटक भेट भयो । विदेशबाट फर्किएपछि मलाई भेटेर उहाँ घर जानुभयो । त्यसको १३ दिनपछि काठमाडौं आउनुभयो । मैतीदेवी पछाडि कोठा लिएर बस्न थाल्नुभयो ।

म उहाँप्रति अति नै क्रेजी थिएँ । उहाँसँग एक पलमात्रै बिताउन पाए पनि म आफूलाई भाग्यमानी सम्झिन्थें । मेरै प्रस्तावमा हामी उहाँको कोठामा लिभिङ टुगेदरमा बस्न थाल्यौं ।

केही वर्ष लिभिङ टुगेदरमा बसेपछि हामीले बिहे गर्‍यौं । उहाँ हाम्रो बिहे गुपचुप गरौं भन्ने पक्षमा हुनुहुन्थ्यो । विवाहको कुरा बाहिर लिक नगरौं भन्नुहुन्थ्यो । उहाँको मनसाय अर्कै रहेछ, मैले बुझ्न सकिनँ । तर, मलाई आफूले मन पराएको केटासँग धुमधामले बिहे गर्ने रहर थियो । मेरै जोडमा धुमधामले बिहे गरियो । मिडियासमेत बोलाइयो ।

बिहेलगत्तै उहाँले आफ्नो असली रुप देखाउन थाल्नुभयो । बिहे भएको १४ दिनपछि ममाथि घरेलु हिंसा सुरु भएको हो । बिहेमा दुलाहाको आमा–बाबु र दाइलाई औंठी बनाइदिनुपर्छ भन्नुभएको थियो उहाँले । माइतीबाट त्यही ग¥यौं । तर, बिहे भएपछि बहिनीलाई गहना नदिएको बहानामा किचकिच सुरु गर्नुभयो ।

म बिहेलगत्तै कार्यक्रमका लागि इजरायल गएको थिएँ । पहिलो भ्यालेन्टाइन डे पनि सँगै मनाउन पाइएन । फर्केर आउनासाथ कहिले श्रीमानको अनुहार हेरौं भन्ने भएको थियो ।

तर, म आउनासाथ उहाँ दोहोरी जान्छु भनेर फुत्त निस्कनु भयो, अनि बिहान आउनुभयो । त्यसपछि झगडा सुरु गरिहाल्नुभयो, बहिनीलाई किन गहना नदिएको भनेर ।

‘तेरो माइतीपट्टि त्यत्रोलाई कुर्ता-सुरुवाल दिएपछि तिमीहरुले मेरो बहिनीलाई गहना दिनुपर्छ कि पर्दैन ?’ भनेर उहाँले मलाई सत्तोसराप गर्न थाल्नुभयो । त्यही दिनदेखि ‘तँ अनुहार न दनुवारकी, उमेर-रुपरंग केही नमिल्नेसँग बिहे गरेर फसें’ भन्न थाल्नुभएको हो ।

मैले उहाँको प्रतिवाद गरेपछि उहाँ आवेशमा आउनुभयो र ममाथि आक्रमण गर्नुभयो । मलाई कुट्दै लडाउनुभयो, अनि किचेनको चप्पल मुखभित्र कोच्याएर घाँटीसम्म पुर्‍याउनु भयो । अन्तिम अवस्थामा मैले खुट्टाले उहाँको पेटमा लात्ती हानेर आफ्नो ज्यान बचाएँ ।

आफूले मन पराएर बिहे गरेको केटाले बिहेको १४ दिनमै यस्तो यातना दिएको कुरा मैले माइतीलाई पनि सुनाउन सकिनँ । माइती परिवारले त मलाई अन्तिम समयसम्म पनि विवाहको विषयमा धेरै झक्झक्याउनु भएको थियो ।

दुई दिनअघिसम्म पनि एकपटक फेरि सोच है भन्नुभएको थियो । तर, मैले उहाँमाथि विश्वास गरेको थिएँ । त्यसैले श्रीमानले दिएको पीडा माइती परिवारमा सुनाउनै सकिनँ ।

मैले आफ्नो साथी कुशल बेलबासे र मेरो दिदीलाई मात्रै त्यस दिनको घटना सुनाएँ । उहाँहरुले मलाई श्रीमानको केही कुरा सहनुपर्छ भनेर सम्झाउनुभयो ।

तर, यस्ता घटनाहरु बारम्बार दोहोरिए । लकडाउनका समयमा हामी दुवै उहाँको घर गयौं । त्यसवेला ४८ दिन घरमा बस्दा मलाई उहाँ र उहाँको परिवारबाट समेत घरेलु हिंसा भयो । ३०-३२ दिन त शारीरिक यातना नै दिनुभयो । त्यसवेला म गर्भवतीसमेत थिएँ ।

पेटमा बच्चा भएको समयमा समेत श्रीमानबाट माया पाइनँ । डिस्कस परेको वेला मलाई ‘तँ माइत गएर बस, मलाई अस्ट्रेलियाको केटीले पर्खेर बसिरहेको छ’ भन्नुहुन्थ्यो । मेरो माइतीलाई उहाँले कहिल्यै राम्रो गर्नुभएन । मेरा दिदी र भाइलाई त देख्नै सक्नुहुन्नथ्यो । माइती परिवारसँग कहिल्यै मीठो वचन बोल्नुभएन ।

उहाँले बारम्बार मेरो चरित्रमा औंला उठाउने प्रयास गर्नुभयो । आज पनि भन्छु त्यस्तो केही प्रमाण भए ल्याउनुस्, पुरस्कार दिन्छु । उहाँसँग च्याटका केही स्क्रिनसट छन् । त्यो पनि उहाँ आफैंले बनाउनुभएको हो । मेरो मोबाइल उहाँले चलाउनुहुन्थ्यो । अनि मेरो नजिकका साथीहरुलाई नानाथरि कुरा लेखेर त्यसको स्क्रिनसट आफ्नो मोबाइलमा पठाउनु हुन्थ्यो । त्यही स्क्रिनसट देखाएर मलाई ब्ल्याकमेलिङ गर्नुहुन्थ्यो ।

प्रदीप रोका मैले टीका लगाएको दाइ हो भन्ने उहाँलाई थाहा छ । तर, प्रदीपसँग उहाँको के रिस हो थाहा छैन । देख्नै सक्नुहुन्न । उहाँकै रिसका कारण प्रदीप रोकासँग मैले कहिल्यै कार्यक्रममा जान पाइनँ । एकपटक दोहोरीमा विजेता भएका वेला मैले अंकमाल गरेको फोटो छापिएको रहेछ । त्यसैलाई देखाएर ‘तेरो प्यास मेटियो होला, अब त्यसैसँग जा’ भनेर ब्लेम लगाउनुभयो ।

प्रदीपमात्र होइन, कुशल बेलबासे, राजु आरडी, बालचन्द्र बराल जस्ता गायकहरुसँग पनि मेरो नाम जोडेर लाञ्छना लगाउनुभयो । म कुनै कार्यक्रममा जाँदा त्यसकै आयोजकमाथि पनि शंका गर्नुहुन्थ्यो । यसरी मलाई अति धेरै मानसिक टर्चर दिनुभयो ।

एकदिन हाम्रो दोहोरीमा उहाँले डान्सर केटी लिएर आउनुभयो । उसको हाउभाउ र पारा हेरेपछि मलाई राख्नुहुँदैन भन्ने लागेको थियो । पहिले कसैले स्टाफ ल्याउँदा हामी चारैजना (लगानीकर्ता) को सहमतिविना राख्ने प्रचलन थिएन । तर, त्यो केटीलाई उहाँले राख्नैपर्ने जिद्दी गर्नुभयो ।

त्यसपछि म त विभिन्न प्रोग्राममा बिजी भएँ । यता ध्यान दिन पाइनँ । गोरखामा एक हप्ता दिनवन्धु पोखरेलसँग प्रोग्राममा गएको थिएँ । काठमाडौं आउँदा संसार उल्टिसकेको थियो । अर्कै किसिमको भइसकेको थियो ।

मलाई साढे ७ वर्ष उहाँसँग रिलेसनमा हुँदा कहिल्यै एकपटक उपहार दिनुभएको छैन । उहाँले बर्थ डे सेलिब्रेट गरेको पनि अस्ति पहिलोपटक हो ।

तर, त्यो केटीको जन्मदिनमा केक आफैंले ल्याएर रुममा लगेर काट्नुभएछ । अनि त्यो केटीले ‘जेरीसँग डिभोर्स दिएर शंकरले मसँग विहे गर्छ’ भन्दै हिँडेकी रहिछ । मलाई दोहोरीका स्टाफले सबै कुरा सुनाए ।

त्यो केटीसँग नजिक भएपछि उहाँले मलाई थप बेवास्ता र तिरस्कार गर्न थाल्नुभयो । विभिन्न अपशब्द बोलेर गालीगलौज गर्नुहुन्थ्यो । पोहोरको क्रिसमस इभको दिन तपाईंको यस्तो–यस्तो छ भन्ने हल्ला सुनेको छु, के हो कुरा भनेर सोधें । कि त्यो केटीलाई निकाल्नुपर्छ, होइन भने म तपाईंलाई छोड्छु भनें । त्यसपछि झगडा गर्नुभयो । मलाई हात छोड्नुभो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार