काठमाडौँ
निर्वाचन सम्पन्न भइसकेपछि मृ’तक व्यक्तिको नाम मतदाता नामावलीमा समावेश भएको भनेर मतगणना रोकिएको स्याङ्जा क्षेत्र नम्बर २ मा बुधवार बेलुकादेखि मतगणना सुरु भएको छ ।
यस क्षेत्रबाट नेकपा एमाले सचिव र नेपाली कांग्रेस उपसभापति चुनावी प्रतिस्पर्धामा छन् । प्रारम्भिक मतगणनामा एमालेकी पद्मा कुमारी अर्यालले अग्रता कायम गरेकी छिन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार अर्यालले दुई हजार ३०४ मत पाउँदा कांग्रेसका धनराज गुरुङले एक हजार ७०३ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका टिक राज गुरुङ्गले ३९९ मत ल्याएका छन् ।
पहिलो स्थानमा रहेकी अर्याले पाएको भोट दोस्रो स्थानमा रहेका गुरुङ्गको भन्दा ६०१ ले बढी छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्याल १०० मतका साथ चौथो स्थानमा रहेका छन् । त्यहाँ अहिले मतगणना जारी छ ।