काठमाडौँ
मिथिलाञ्चलमा यति बेला विवाह पञ्चमीको रौनक छ । मङ्सिर ११ गते आइतबारको दिन मिथिलामा ‘श्रीमान् र सन्तानको’ लामो आयुको कामना गर्दै ‘रवि’ व्रत बस्ने चलन छ ।
तर जनकपुर–जलेश्वर सडक खण्डबाट करिब २ सय मिटर भित्र रहेको सोनाली कुमारी सिंह अर्थात् निहारिकाको जन्म घरमा भने त्यस्तो कुनै रौनक थिएन । बरु त्यो पुर्खौली घर सुनसान थियो । हामी भने जिउँदो छोरीको काजक्रिया गरिसकेका बुवा–आमालाई भेट्न उनकै घर पुगेका थियौँ ।
पर्खालले घेरिएको भए पनि वर्षौँ पुरानो उक्त घर खण्डहर जस्तै छ । घरमा आमा र बुवा मात्रै छन् । ६ छोराछोरी जन्माएका निहारिकाको परिवारको कान्छो सदस्य अर्थात् छोरा पनि अहिले घरमा बस्दैनन् । गाउँघरमा हुने अनेकन् गलत टिका टिप्पणीका कारण छोरासमेत गाउँमा बस्न नसकेर अन्यत्रै बस्न थालेको निहारिकाको बुवाले सुनाए ।
उनको परिवारको खुसी खोसिन सुरु गरेको करिब ३ वर्ष भएको निहारिकाका बुवाले सुनाए । सामाजिक बेइज्जती र अपमानका कारण चाडबाड वा अन्य पर्वमा पनि कुनै खुसी नहुने र पत्तोसमेत नहुने उनले सुनाए ।
आइतबार अपराह्न हाम्रो टिम निहारिकाको घरमा पुग्दा सुरुमा उनको बुवा निहारिकाको विषयमा बोल्नै मानेनन् । ‘काजक्रिया’ भइसकेको व्यक्तिको बारेमा बोल्नु ठिक हुँदैन भन्दै उनका बुवा तर्किन खोजे । हामी पत्रकार भएको कुरा बताएपछि त्यो घरभित्रबाट एउटी वृद्ध महिला बाहिर आइन् । ती वृद्ध महिला निहारिकाका आमा थिइन् । तिनै आमाले निहारिकाको सम्बन्धमा कुनै कुरै नगरौँ उनकै कारण मेरो सारा परिवार बिग्रियो, समाज बिग्रियो भन्दै रुन थालिन् ।
भक्कानिँदै बाहिर निस्किएकी निहारिकाकी आमाले छोरीकै कारण आफ्नो सबै कुरा तहसनहस भएको बताइन् । उनले भनिन्, ‘छोरी यस्ती होली भन्ने पहिला नै थाहा पाएको भए, उनलाई कोखमै मारिदिन्थे । उनकै कारण हाम्रो सम्पूर्ण परिवार समाजबाटै बहिष्कारमा परेका छौँ । बाहिर निस्कन सकेका छैनौँ, समाज र परिवारमा मुख देखाउन सकेका छैनौँ ।’
निहारिकाको आमाको आँसुसँगै एक छिन सन्नाटा छायो । हामी सबै केही समय चुपचाप रह्यौँ । आइतबारको दिन मिथिलामा ‘श्रीमान् र सन्तानको’ लामो आयुको कामना गर्दै ‘रवि’ व्रत बस्ने चलन छ । आइतबार ‘रवि’ व्रतको फलाहार गर्ने तरखरमा थिइन् सोनाली कुमारी सिंहकी आमा । बुवा भने हाफ सेन्डो र ट्र्याक पेन्ट लगाएर टोलाएर बसिरहेका थिए ।
जब निहारिकाको कुरा आउँथ्यो, परिवारबाट खोसिएको खुसीको चिन्तामा उनको बुवा र आमा पल पलमा भक्कानिन्थे । सुरुमा निहारिकाको विषयमा कुराकानी गर्न अस्वीकार गरेका उनका बुवा निर्मल कुमार सिंहले पछि हामीलाई बस्न अस्वीकार गरे । तपाईँकी छोरी ‘न्याय’ मागेर अनसन बसिरहँदा, गुहार मागिरहँदा तपाईँहरू यसरी चुपचाप बस्न मिल्ला र भन्ने हाम्रो प्रश्नसँगै निर्मलले निहारिकाका विषयमा थप केही कुरा गरे ।
यस्तो छ निहारिकाको पृष्ठभूमि
६ जना सन्तानका पिता रहेका निर्मल कुमार सिंहका कान्छी छोरी हुन्, सोनाली कुमारी सिंह अर्थात् निहारिका । चार जना छोरीहरुको विवाह गर्दा लागेको ऋण निर्मलले अहिलेसम्म तिर्न सकेका छैनन् । निर्मलका बुवा आमाले अंश छुट्टाएर पनि दिएका छैनन् । आर्थिक अवस्था अत्यन्तै कमजोर छ भने उनीहरू भाइको पुरानो घरमा बस्दै आएका छन् । कठिन परिस्थितिमा पनि कान्छी छोरी सोनालीलाई कम्तीमा १२ कक्षासम्म पढाएर प्रहरी बनाउने अठोट उनीहरूले लिएका थिए । तर निहारिकाले त्यो सबै परिश्रम र त्यागलाई अवमूल्यन गरेको निर्मलले सुनाए ।
निहारिकाले एसइईसम्म गाउँमै अध्ययन गरेकी थिइन् । त्यसपछि प्लस टु अध्ययनका लागि निहारिकाको बुवा र आमाले उनलाई जनकपुर पठाएका थिए । छोरीलाई सकेसम्म नेपाल प्रहरीको असई बनाउने उनीहरूको चाहना थियो ।
६ जना छोराछोरीमध्ये कान्छी छोरीका रूपमा निहारिका र त्यसपछि छोराको जन्म भएको थियो । कान्छी छोरी भएको कारणले पनि निहारिकाको मागमा बुवा र आमा नतमस्तक हुन्थे र निहारिकाले मागेको जस्तै गरेका थिए । छोरासरहको ‘स्वतन्त्रता’ दिँदा छोरी ‘बिग्रिएकी’ बुवा निर्मल कुमार सिंहले गुनासो गरे । निहारिकालाई दिएको स्वतन्त्रताको उनले गलत फाइदा उठाएको निर्मलले बताए ।
परिवारले गरिसक्यो निहारिकाको काजक्रिया
निर्मलले हाम्रो टिमसँग भने, ‘मधेस जस्तो स्थानमा पनि उनलाई हामीले छोरी जस्तो व्यवहार कहिले गरेनौँ, छोरालाई जस्तै ‘फ्रिडम’ दियौँ र सहयोग गर्यौँ । उनले जतिबेला जे भनिन्, जस्तो माग गरिन्, हामीले सम्भव भएसम्म पूरा गरिरह्यौँ । तर उनले गाउँ समाज मात्रै नभएर संसार मै हाम्रो बेइज्जत गराइन् । गाउँ समाजमा मुख देखाउन नसक्ने बनाइन् । त्यसैले छोरी मरिसकी भनेर हामीले ९ दिने नौकेस (काजक्रिया) गरिसकेका छौँ । अब उनको बारेमा केही नसोधौँ । उनी हाम्रो लागि मरिसकिन् ।’
निहारिकाको विगतदेखि वर्तमानसम्म उनकै बुवाको शब्दमा:
– निहारिका कक्षा १० सम्म ठिक थिइन् । पछि उच्च शिक्षा हासिल गर्न भनेर हामीले निहारिकलाई पारिवारिक सल्लाहमै जनकपुर पठाएका हौँ । जनकपुर पठाएको केही समय नियमित बिदाको दिन उनको घर आउजाउ भइरहन्थ्यो । उनको जनकपुरमा भइरहेको पढाई–लेखाइको विषयमा पनि परिवारसँग छलफल भइरहन्थ्यो ।
– तर केहीपछि नै मेरो परिवारमा आपत् आइपर्यो । एक दिन मैले उनको आमाबाट थाहा पाएँ कि उनी एक जना पहाडको श्रेष्ठ थर भएको पहाडिया नेवार केटासँग प्रेम सम्बन्धमा रहेकी छिन् भनेर । त्यसको केही समयमै मैले उनी गर्भवती भएको कुरा थाहा पाएँ । त्यो बेला त मेरो माइन्ड नै ब्ल्यांक भयो । तर पनि समाजमा इज्जत जाने डरले मैले यो विषय परिवारमै छलफलमा राखेँ । मेरो ६ जना छोराछोरी छ, तर यसले जतिको पीडा अरू कसैले दिएनन् । हामीले यसलाई धेरै नै सम्झाई बुझाई ग¥यौँ, तर उसले मानिन ।
– निहारिका अकडी स्वभावको थिइन् र जिद्दी गर्थिन् । हामीले उनलाई त्यो केटालाई छाड्न भन्यौँ तर उनले जसरी पनि त्यही केटासँग विवाह गर्ने भनेर जिद्दी गरिरहिन् । हामी परिवारका सबै बसेर छलफल गरी उक्त केटालाई छाड्न र आफ्नै जातको युवकसँग विवाह गराइदिने भन्यौँ । तर उनले म त्यो केटालाई धेरै माया गर्छु र यसैसँग विवाह गर्छु भनिरहिन् । परिवारका सबै मिलेर उनको ब्रेन वास गर्ने कोसिस पनि गर्यौँ । तर उनी टसको मस भइनन् ।
– घरमा कुरा नमिलेपछि उनी घरबाट निस्केर गइन् । लगतै हाम्रो परिवारको सदस्यहरूले उनी बसेको छेउछाउमा खोजबिन गर्यौँ । तर उनी हात बेहात भइसकेकी थिइन् ।
– सुन्नु नपर्ने कुरा सुनेँ, जनकपुर गएर निहारिकाले यतिसम्म बरबाद गर्लिन् भन्ने कुराको भान भएको भए म जिन्दगी जनकपुर पठाउँदैनथें । यसकै चक्करमा मेरो छोरो डिप्रेसनमा गइसक्यो । छोराको पनि पढाई–लेखाई, भविष्य सबै बरबाद भयो ।
– उनले आर्थिक र सामाजिक सबै तवर वाट मेरो परिवारको तहसनहस पारिदिइन् । त्यति सम्झाउँदा पनि उनले हाम्रो कुनै मूल्याङ्कन नै गरिनन्, आफ्नै मन मर्जी गरिरहिन् । निहारिकाकै कारण मेरो एक्लो छोरा गाउँ बस्दैन, सबैले सबै किसिमको कुरा सुनाउँछन् । हामी कहीँको बाँकी रहेनौँ ।
– अब मेरो भन्नु यति मात्रै छ कि, निहारिकासँग साढे दुई वर्ष पहिले नै म र मेरो परिवारको सम्बन्ध कानुनी रूपमा सकिइसक्यो । हामीले उनको नौकेस गरिसकेका छौँ । यस सम्बन्धमा अब कुनै चर्चा गर्नु छैन । यस्ती छोरी कसैको नजन्माउन् ।
यो विषयमा कुरा गर्न हामीले निहारिकासँग फोन सम्पर्क गरेता पनि उनले हाम्रो फोनको रेस्पोन्स गरिनन् ।
पत्रकार शिव अधिकारी यदुवंशीकाे सहयाेगमा