काठमाडौं ।
यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।
शनिबार बेलुका साढे ५ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) अग्रस्थानमा कायमै छ ।
एमालेले २७ लाख ८४ हजार ८९७ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ५५५ हजार ११९ मत ल्याएको छ ।नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमै छ । माओवादी केन्द्रले ११ लाख ६१ हजार ९५२ मत पाएको छ ।
११ लाख २३ हजार ६२७ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ८६ हजार ३८५ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) चार लाख २० हजार ९४४ मत पाउँदै छौटौँ स्थानमा छ ।
जनमत पार्टी तीन लाख ९४ हजार ३९० मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) दुई लाख ९४ हजार १५२ मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी दुई लाख ७१ हजार ६५९ मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक लाख ६७ हजार २८० मतसहित दशौँ स्थानमा छ ।
अरू पार्टीले एक लाखभन्दा कम मत पाएका छन् । अहिलेसम्म एक करोड चार लाख नौ हजार ६३३ मत गनिएको छ । यसक्रममा राष्ट्रिय पार्टी बन्न संघर्षरत एकीकृत समाजवादीको मत थपिनेक्रम सुस्त देखिएको छ ।
आजै दिउँसो सवा २ बजेसम्म सो पार्टीले दुई लाख ९४ हजार १०० मत पाएको थियो । पछिल्लो विवरणानुसार त्यसमा ५२ मत मात्र थपिएको छ ।
अरू ठूला दल एमाले, कांग्रेसको मत तुलनात्मक रूपमा बढी थपिएको छ । एकीकृत समाजवादीको भन्दा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको मत पनि बढी थपिएको छ ।