निर्वाचनको नतिजा नआउँदै भारतीय राजदूत र प्रधानमन्त्री देउवाको दोस्रो भेट, के-के भयो कुराकानी ?

काठमाडौँ

मंसिर ४ मा भएको निर्वाचनको परिणाम नआइसक्दैन नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवालाई दोस्रो पटक भेटेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न श्रीवास्तव शनिबार विहान प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटार पुगेको स्रोतले बताएको छ ।

यसअघि उनले मंसिर १० गते बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँगै एक्ला एक्लै भेटवार्ता गरेका थिए । चुनावी नतिजा नआउँदै भारतीय राजदूतको दौडधुप देखिएपछि उनको आलोचना भइरहेको छ ।

यसअघि देउवालाई भेटेपछि राजदूत श्रीवास्तवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए ।
प्रधानमन्त्री देउवासँग भेट भएको १० दिन पनि नवित्दै फेरि उनीहरूबीच भेटवार्ता भएको हो ।

शनिबार भने प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवालाई चुनाव जितेकोमा बधाई दिनका लागि राजदूत श्रीवास्तव बालुवाटार गएको बताइएको छ । शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गरेकोमा राजदूतले देउवालाई बधाई दिएको स्रोतको दावी छ ।

निर्वाचनको अन्तिम नतिजा आउनेक्रमसँगै दलहरूले नयाँ सरकार गठनको गृहकार्य थालेको बेलामा भारतीय राजदूतको सक्रियता बढेको हो ।

 

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार