काठमाडौँ
प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये ७२ प्रतिशत अर्थात ११९ सिट कांग्रेस, एमाले र माओवादीले ओगटेका छन् । प्रदेशसभाका ३३० सिटमध्ये २५५ अर्थात ७७ प्रतिशत सिट यीनै तीन दलले लिएका छन् । पहिले हेरौँ यी तीन दलले प्रतिनिधिसभा र प्रदेशसभामा जितेका सिट ।
प्रतिनिधिसभा १६५ मध्ये
प्रदेशसभा ३३० मध्ये
को कहाँ बढारियो
माओवादी
एक तिहाइ बढी जिल्लामा माओवादी केन्द्रले आफ्नो उपस्थिति देखाउन सकेको छैन । कम्तीमा एउटा जिल्लामा तीनवटा प्रतिनिधि (प्रतिनिधिसभा १ र प्रदेशसभा २) र अधिकतम ३० जना प्रतिनिधि हुँदा पनि माओवादी २८ वटा जिल्लामा शून्य उपस्थिति छ ।
प्रतिनिधिसभाका १० र प्रदेशका २० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा समेत माओवादीको उपस्थिति शून्य रहेको छ ।
प्रदेश १
इलाम, झापा, ताप्लेजुंग, धनकुटा, सोलुखुम्बु जिल्लामा माओवादी उपस्थिति शून्य रहेको छ । यसमध्ये इलाममा ४ वटा प्रदेशसभा र २ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् भने झापामा १० वटा प्रदेशसभा र ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् ।
मधेस प्रदेश
माओवादीको तुलनात्मक रुपमा बलियो उपस्थिति भनिएको मधेस प्रदेशका ८ मध्ये ३ जिल्लामा शून्य उपस्थित रहेको छ । बारा, सप्तरी र सिराहामा माओवादी उपस्थिति छैन । यी तीनवटै जिल्लामा ४/४ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ८/८ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।
बागमती प्रदेश
बागमती प्रदेशभित्रको काठमाडौं उपत्यकामा माओवादीको उपस्थिति शून्य रहेको छ । काठमाडौंमा १०, भक्तपुरमा २ र ललितपुरमा ३ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र यसको दोब्बर प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । यी तीन जिल्लाबाट मात्रै प्रतिनिधसभा र प्रदेश सभामा ४५ सांसद छनोट हुँदा माओवादी शून्य रहेको छ ।
गण्डकी प्रदेश
गडणकी प्रदेशका पनि धेरै जिल्लामा माओवादी उपस्थिति शून्य रहेको छ । यो प्रदेशका धेरैवटा जिल्लामा एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेकोमा माओवादीले भने धेरै जिल्लामा आफ्नो उपस्थिति देखाउन सकेको छैन । कास्की, नवलपरासी पूर्व, पर्वत, मनाङ, मुस्ताङ र लम्जुङमा माओवादीकाे उपस्थिति शून्य रहेको छ ।
लम्बिनी
लुम्बिनी प्रदेशमा १२ मध्ये ७ वटा जिल्लामा माओवादी उपस्थिति शून्य रहेको छ । यो प्रदेशका अर्घाखाँची, कपिलवस्तु, गुल्मी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), प्यूठान, बर्दिया र रूपन्देही माओवादीका कुनै पनि प्रतिनिधि विजयी भएका छैनन् ।
कर्णाली र सुदूरपश्चिमका ३ जिल्लामा माओवादी खाली
कर्णाली र सुदूरपश्चिममा भने माओवादीको उपस्थिति बलियो देखिएको छ । तर कर्णालीको जुम्ला र सुदूरपश्चिमको बाजुरा र बैतडीमा माओवादीको उपस्थिति छैन ।
२४ जिल्लाबाट एमाले बढारियो
दोस्रो ठूलो दल बनेको एमालेको २४ जिल्लामा शून्य उपस्थिति रहेको छ । एमालेले प्रदेश १ र मधेसमा बलियो उपस्थिति देखाए पनि अन्य प्रदेशका जिल्लाहरूमा भने एमाले पनि कमजोर देखिएको छ । प्रदेश १ को भोजपुरमा एमालेका कुनै प्रतिनिधि विजयी भएका छैनन् भने मधेस प्रदेशका सबै जिल्लामा एमाले प्रतिनिधि विजयी भएका छन् ।
बागमतीमा
बागमतीका ६ वटा जिल्लामा एमालेको उपस्थिति शून्य रहेको छ । बागमती प्रदेशका धादिङ, नुवाकोट, रसुवा, रामेछाप, सिन्धुपाल्चोक र सिन्धुलीमा एमालेकाे उपस्थिति शून्य रहेको छ ।
गण्डकीका
गण्डकी प्रदशेका ५ जिल्ला गोरखा, बागलुङ, मुस्ताङ, मनाङ र म्याग्दीमा एमालेको उपस्थिति शून्य रहेको छ । यहाँ बाट प्रदेश र प्रतिनिधसभा दुबैमा एमाले प्रतिनिधि विजयी हुन सकेका छैनन् ।
लुम्बिनी
लुम्बिनी प्रदेशमा एमालेले राम्रो नतिजा हात पारे पनि ४ जिल्लामा भने उपस्थिति शून्य रह्यो । दाङ, बर्दिया, रूकुम पूर्ब र रोल्पामा एमालेकाे उपस्थिति शून्य रह्यो ।
कर्णालीका पनि ४ जिल्लामा छैन एमाले
कर्णाली प्रदेशका पनि ४ जिल्लामा एमाले उपस्थिति रहेको छैन । कर्णालीका सल्यान, हुम्ला, कालिकोट र रुकुमपश्चिममा एमालेकाे उपस्थिति शून्य छ ।
सुदूरमा ५ जिल्ला एमाले खाली
सुदूरपश्चिमका ५ जिल्लामा एमाले खाली रहेको छ । अछाम, डडेलधुरा,दार्चुला, बझाङ्ग र बाजुरामा एमालेका प्रतिनिधि विजयी भएका छैनन् ।
जहाँ बढारियो कांग्रेस
७७ मध्ये १२ जिल्लाबाट कांग्रेस पनि बढारिएको छ । प्रदेश १ को धनकुटा, सोलुखुम्बु र पाँचथर, मधेसको बारा र सिराहामा उपस्थिति शून्य रहँदा बाागमती प्रदेशका सबै जिल्लामा कांग्रेसकाे उपस्थिति रहेको छ ।
त्यस्तै गणडकीको पर्वतमा, लुम्बिनीको अर्घखाँची र रोल्पामा, कर्णालीको रुकुम पश्चिम, डोल्पा र जुम्लामा कांग्रेसकाे उपस्थिति शून्य रहेको छ भने सुदूरपश्चिम प्रदेशको डोटीमा पनि कांग्रेसका प्रतिनिधि छैनन् ।