काठमाडौं
नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले एमाले उपाध्यक्ष विष्णु पौडेल र नेता खिमलाल भट्टराईसँग भेटवार्ता गरेकी छिन्। काठमाडौं फर्किने क्रममा भैरहवा एअरपोर्टमा उनीहरुबीच भेटवार्ता भएको हो।
उक्त भेटको तस्बिर सार्वजनिक गर्दै झाँक्रीले सन्देश रहेको बताएकी छिन्। फेसबुकमा तस्बिर राख्दै उनले लेखेकी छिन्, ‘तस्बिरमा सन्देश छ।’
झाँक्री गुल्मी- २ बाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार थिइन्। सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेकी झाँक्री एमाले सचिव गोकर्ण विष्टसँग पराजित भइन्।
पौडेलसहित सँगको तस्बिर राखेर झाँक्रीले लेखेको सन्देशमा प्रतिक्रिया जनाउँदै अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘एमालेमै आउने सन्देश हो?’ भनेर सोधेका छन्।
आइतबार दिउँसो साढे १ बजेसम्म समानुपातिकतर्फ ८४ लाख ८४ हजार २८० मत गणना भइसकेको छ। गणनाभएको मतमध्ये एमालेले सर्वाधिक मत पाएको छ।
अहिलेसम्म एमालेले २३ लाख ३४ हजार ३४५ मत पाइसकेको छ। उसले पाएको मत २७. ५१ प्रतिशत हो। दोस्रोमा रहेको कांग्रेसले पनि २२ लाख ३७ हजार ४९१ मत पाएको छ। उसले पाएको मत २६.३७ प्रतिशत हो।
त्यस्तै, अहिलेसम्म गणना भएको मतमा माओवादी केन्द्रले ११.५२ प्रतिशत मत पाएको छ। उसले अहिलेसम्म ९ लाख ७८ हजार १०४ मत पाइसकेको छ। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २८ हजार ८९९ मत पाएको छ। उसले पाएको मत १०.९५ प्रतिशत हो।
अहिलेसम्म गणना मतमा तीन प्रतिशत मत कटाउने दल राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी पनि हुन्। उनीहरुले क्रमशः ५.७५ प्रतिशत र ३.४५ प्रतिशत मत पाइसकेका छन्। त्यस्तै, जनमत पार्टीले २.७० प्रतिशत, एकीकृत समाजवादीले २.६९ प्रतिशत र नागरिक उन्मुक्ति पार्टीले २.३३ प्रतिशत मत पाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको मत प्रतिशत भने घट्दै गएको केही दिनयताको विवरणले देखाउँछ। गत ७ गते बिहान उसको मत प्रतिशत १३. ४२ प्रतिशत थियो। ९ गते बेलुका ५ बजे १२.६१ प्रतिशत र १० गते दिउँसो १ बजे ११.६२ प्रतिशतमा आइपुगेको थियो। आज (११ गते दिउँसो साढे १ बजे) उसको मत प्रतिशत १०.९५ प्रतिशतमा झरेको छ।