काठमाडौं ।
धरान उप–महानगरपालिकाका मेयर हर्कराज राई (हर्कराज साङपाङ)ले दलित समुदायलाई चोट पु¥याएको घटनाप्रति माफी मागेका छन् ।
आइतबार मेयर राईले विज्ञप्ति जारी गरेर आफ्नो अभिव्यक्ति कसैप्रति लक्षित नरहेको बताएका छन् । उनले सो अभिव्यक्तिले कसैलाई दुःख पुगेको भए क्षमा चाहेको बताएका छन् ।
गायक शिव परियारले धरानका मेयर राईको अभिव्यक्तिप्रति सबैभन्दा धेरै चित्त दुखाएर प्रतिवाद गरेका थिए । मेयर राईको आलोचना गर्दा गायक परियारप्रति विभिन्न लाञ्छना लगाएर गालीगलौज र टिकाटिप्पण भएका छन् ।
गायक परियारले भनेका छन्, ‘धरानका मेयर प्रिय हर्क साम्पाङ्ग ज्यू तपाईले बञ्चितीकरणमा परेका समुदायको आत्मसम्मानमा चोट पुर्याउने गरि अभिव्यक्त गर्नुभएको सार्वजनिक सामाजिक टिप्पणीप्रति आत्मालोचना गर्दै क्षमा मागेर समग्र समाजलाई सद्भावपूर्ण रहन सकारात्मक सन्देश दिनु भएको छ ।’
‘यस कार्यप्रति म नेपाल देशको कलाकार, गायक/संगीतकार शिव परियार तपाईको यस कदमप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु’, गायक परियारले भनेका छन्, ‘यस कदमले सामाजिक सद्भाव कायम राख्न, मानव मर्यादा अभिवृद्धि गर्न र कानूनी शासनको सम्मान गर्न नेपाली समाजलाई अवश्य प्रेरणा मिलेको छ ।’
परियारले भनेका छन्, ‘यस विषयमा ध्यान आकर्षण गराउने सन्दर्भमा मैले प्रयोग गरेको शब्द ‘जोगी’ले समग्र जोगी समुदायप्रति पर्न गएको आघातप्रति म आत्मआलोचना गर्दै क्षमाप्रार्थी छु ।’
मेयर राईले भनेका छन्, ‘मंसिर २८ गते मेरो फेसबुक पेजमा मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा ‘चमारे’ शब्द अप्रत्यासीत प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुःख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुःखी बनाएको रहेछ ।’
‘त्यसका लागि क्षमाप्रार्थी छु । सधैँ समानताको भावनाका साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति विसंगती बेथिति भ्रष्टाचार अन्याय, अत्याचार विभेद शोषण र दमनका विरुद्ध लामो समय अभियान चलाएको मेरो ईतिहाँस रहेको सबैमा जानकारी गउाँदै कसैलाई ठेस पुर्याउने नियतवश सो स्टाटस पोष्ट नगरेको जानकारी गउँदछु’, मेयर राईले भनेका छन् ।
मेयर राईले दलित समुदायभित्र पर्ने ‘चमार’ समुदायप्रति लक्षित गरेर ‘चमारे’ भनेर छन्नभाँती लेखेका थिए ।
मेयर राईको सो कार्य र हर्कतको गायक शिव परियारले जबरजस्त रुपमा विरोध गर्दै विरोध जनाएका थिए । गायक परियारले विरोध गरेर आफ्नो फेसबुक पेजमा लेखेपछि मेयर राई झुक्न बाध्य भएका छन् । बाध्य भएर माफी मागेका छन् ।
धरान उप–महानगरपालिकाको मेयरमा राई निर्वाचित भएपछि घमण्डी र अहँकारी अभिव्यक्ति दिन थालेका छन् । उनले केही कामहरू राम्रो गरे पनि धेरै जस्तो कार्य जनतालाई आक्रोशित हुने जस्ता हर्कत गरेका छन् ।
मेयर राईले ‘चमारे’ शब्दको विरोध गर्ने राष्ट्रिय दलित आयोगको आपत्तिप्रति पनि विरोध जनाएका थिए । राईले आयोगलाई खारेज गर्न भन्दै आक्रोश पोखरेर सामाजिक सञ्जालमा लेखेका थिए । राईको अहँकार र घमण्ड ठेगान लागेको छ ।
मुख नसम्हाल्ने हो भने मेयर राईका सार्वजनिक पदमा बस्ने दिन सहज हुने देखिदैन । उनको आराजक शैलीका कारण गलहत्याएर मेयरको कुर्सीबाट जनताले लेखेट्न बेर लगाउने सम्भावना छ ।