ओली निवासमा एमालेको सचिवालय बैठक जारी

काठमाडौं :

नेकपा (एमाले)को सचिवालय बैठक जारी रहेको छ। एमाले पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहान ८:३० बजेदेखि केन्द्रीय सचिवालयको बैठक जारी रहेको छ।

बैठकमा नयाँ सत्ता समिकरण, नयाँ सरकार र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ। एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट र लोकप्रिय मत ल्याएर समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर ४ मा सम्पन्न निर्वाचनमा राजनीतिक दलहरुले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते बेलुका ५ बजेभित्र दावी पेश गर्न आह्वान गरेकी छन्।

राष्ट्रपति भण्डारीबाट सरकार गठन आह्वान भएको दोस्रो दिन नेकपा एमालेले औपचारिकरूपमा प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रस्ताव गरेको छ। एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मंगलबार बिहान खुमलटार पुगेर औपचारिकरूपमा यस्तो प्रस्ताव गरेका हुन्।

केही दिनअघि माओवादीले नै सत्ता सहकार्यका लागि एमालेसँग औपचारिक प्रस्ताव गरेको थियो। देउवालाई गलाउने रणनीतिका साथ अगाडि बढेका प्रचण्डले महासचिव देव गुरुङलाई दूतका रूपमा बालकोट पठाएका थिए।

गुरुङले सत्ता सहकार्यका विषयमा एमाले अध्यक्ष ओलीसँग राय मागेका थिए। देशमा स्थिर सरकार निर्माणका लागि ‘वाम शक्ति’ अपरिहार्य रहेको भन्दै गुरुङले सत्ता सहकार्यका लागि औपचारिक प्रस्ताव गरेका थिए। सोही प्रस्तावको जवाफसहित मंगलबार नेम्वाङले प्रधानमन्त्रीको प्रस्ताव लिएर खुमलटार पुगेका थिए।

‘एमाले-माओवादी’ सत्ता सहकार्य गर्दा नेम्वाङले दुई शर्तसमेत अगाडि सारेका थिए। उनले राष्ट्रपति एमालेले पाउनुपर्ने र माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई गठबन्धनमा समावेश नगर्ने शर्त प्रचण्डसँग राखेका थिए। दुई शर्त माने एमाले अन्य पदको बाँडफाडमा पनि लचकता देखाउने नेम्वाङले प्रस्ताव गरेको खुमलटार स्रोतले जानकारी दियो।

‘एमाले तपाईं(प्रचण्ड)लाई प्रधानमन्त्री मान्न तयार छ। तपाईं प्रधानमन्त्री बन्नुहोस्, एमाले राष्ट्रपतिमा मान्न तयार छ,’ दुई नेताबीचको सम्वादलाई उद्दृत स्रोतले भन्यो, ‘बाँकी पदहरू एमाले-माओवादीका शीर्ष नेता बसेर सहमतिमा बाँडफाड गरौंला। देशलाई स्थितरतातर्फ लैजान राजनीतिलाई नयाँ कोर्षबाट अगाडि बढाऔं। तर अहिले एसबिनाको गठबन्धन बनाऔं।’

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज शपथ ग्रहण गर्दैछन्। संघीय संसद् सचिवालयका अनुसार नयाँबानेश्वरस्थित संसद् भवनमा आज दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए।

प्रतिनिधिसभा सांसदको शपथअघि ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सर्वदलीय बैठक बोलाएका छन्। राणाले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिलाई १२ बजे शंकर हलमा बोलाएका हुन्।

नेकपा (एमाले) ले प्रनिनिधिसभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ। एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार