काठमाडौं :
पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टी नेपालका अध्यक्ष माधवकुमार नेपाल त्रिवि शिक्षण अस्पताल, महाराञ्जगन्जबाट सांसद पदको शपथका लागि नयाँ बानेश्वर आउने भएका छन्।
संघीय संसद् सचिवालयका अनुसार नयाँबानेश्वरस्थित संसद् भवनमा आज दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ।
उपचाररत अध्यक्ष नेपाल अस्पतालबाट शपथ ग्रहण गर्न बानेश्वर आउने समाजवादी प्रेस संगठनका उपाध्यक्ष विश्वमणि सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार शपथ ग्रहण गरेपछि नेपाल पुन : अस्पताल नै फर्किने भएका छन्।
बुधबार नेपाललाई भेट्न प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिवि शिक्षण अस्पताल पुगेका थिए।
छातिमा संक्रमण देखिएपछि नेपाल मंगलबार अस्पताल भर्ना भएका हुन्। उनको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ। छात्ति रोग विशेषज्ञ डा सन्तकुमार दास नेतृत्वको टोलीले नेपालको उपचार गरिरहेको छ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए।
निर्वाचन आयोगले दिएको सांसदहरूको सूचीमा महिन्द्र राय यादवको उमेर ८५ वर्ष उल्लेख भए पनि उनले आफ्नो नागरिकतामा उमेर धेरै भएको भन्दै शपथ नलिने जानकारी गराएपछि आयोगले संसद् सचिवालयलाई ८१ वर्षीय राणालाई ज्येष्ठ सदस्यको नाम पठाएको थियो। सचिवालयले राष्ट्रपतिलाई बुझाएको नामको आधारमा बुधबार राणाले शपथ लिएका हुन्।
शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने उनले बताए। शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको छ। शपथका लागि सचिवालयले नेपाली भाषामा शपथ वक्तव्य तयार पारिसकेको छ।