काठमाडौं ।
वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रतिनिधिसभा सदस्य पदको शपथ लिएका छन् । संघीय संसद् सचिवालयका एक अधिकारीका अनुसार पाण्डेले शपथ पुस्तिकामा हस्ताक्षर गरेका छन् ।
प्रदेशसभा सदस्यका रूपमा प्रदेशसभाबाट मुख्यमन्त्री बनेका पाण्डेले संघीय सांसदको शपथ लिएपछि उनको मुख्यमन्त्री पद अब के हुन्छ भन्ने प्रश्न उठेको छ । एकैपटक कुनै व्यक्ति दुई सभाको संवैधानिक पदमा रहन मिल्ने/नमिल्ने प्रश्न उठेको हो ।
संविधानविद् डा. विपिन अधिकारी एउटै व्यक्ति एकैपटक दुई संवैधानिक पदमा बस्न नमिल्ने बताउँछन् । संघ र प्रदेश अलग–अलग संरचना भएकाले संघको सभामा शपथ लिएसँगै प्रदेशसभा सदस्यका रूपमा लिएका जिम्मेवारी स्वतः खारेज हुने उनको भनाइ छ ।
प्रदेशसभा सदस्यका रूपमा पाण्डे त्यहाँको मुख्यमन्त्री भएको भन्दै संघीय संसद्को शपथ लिएपछि त्यो पद स्वतः रिक्त भएको उनको तर्क छ ।
“अहिलेको संवैधानिक व्यवस्थाअनुसार पनि पहिलेको पनि, हामी दुईवटा पगरी सँगसँगै लगाउन सक्दैनौँ । प्रतिनिधिसभा सदस्यको शपथ भयो भन्नुको अर्थ अन्य किसिमका सभाहरूको सदस्यता र त्यो सभाका सदस्यको हैसियतमा अन्य कुनै सभाको सदस्य वा मुख्यमन्त्रीको पद समाप्त भयो भन्ने हुन्छ,” डा. अधिकारीले बाह्रखरीसँग भने, “उहाँ त निर्वाचनको मिति घोषणा गरेसँगै कामचलाउ भइसक्नुभएको थियो । तर, अहिलेको इस्यु के हो भने त्यो कार्यवाहक पनि उहाँ रहनु भएन । किनभने, उहाँले अर्को पगरी लगाउनुभयो ।”
उनले संघीय संसद्को सदस्य भइसकेको व्यक्ति कुनै पनि अवस्थामा प्रदेशको सदस्य भइरहने नसक्ने बताए । “र, प्रदेशको मुख्यमन्त्री भएर उहाँ अब उभिन सक्नु हुन्न,” डा. अधिकारीले भने ।
त्यसो भए कार्यवाहक तोक्ने र राजीनामा दिने विकल्प उनीसँग रहन्छ त भन्ने प्रश्नमा डा. अधिकारीले त्यो हैसियत पनि पाण्डेसँग बाँकी नरहेको बताए ।
“उहाँले राजीनामा दिनै परेन । उहाँले कर्तव्य गरेर राजीनामा दिएसरहको प्रस्तुति जनाइसक्नुभयो,” अधिकारीले भने, “उहाँले कार्यवाहक तोक्ने र राजीनामा दिने अवसर हुँदाहुँदै हतारिएर गुमानुभयो ।”
अधिकारीका अनुसार सांसदहरूलाई एकैदिन शपथ लिने अनिवार्य नभएकाले पाण्डेले धैर्यपूर्वक मुख्यमन्त्रीको कार्यवाहक तोकेर उता राजीनामा गरेर प्रतिनिधिसभामा प्रवेश गर्न सक्थे ।
“प्रतिनिधिसभाको शपथ अहिले नलिएर कुर्न सक्नुहुन्थ्यो । किनभने, प्रतिनिधिसभाको काम–कारबाहीमा भाग लिनका लागि शपथ चाहिने हो, अहिले भाग लिन्नँ, उताको पगरी खोलेर मात्र लिन्छु भन्न पाउनुहुन्थ्यो,” डा. अधिकारीले भने, “तर, त्यो चाहना उहाँले नराखेको बुझिन्छ, शपथग्रहणको प्रक्रियाले ।”
मुख्यमन्त्री पाण्डे बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ लिएलगत्तै मुख्यमन्त्रीका रूपमा महोत्सव उद्घाटन गर्न धादिङबेसीतर्फ लागेका छन् । धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको आठौँ धादिङ महोत्सव उद्घाटन गर्न उनी त्यता लागेका हुन् ।