शोभराज अब कहिलै नेपाल आउन पाउने छैन

काठमाडौँ

सिरियल किलर चार्ल्स शोभराजलाई फेरि नेपाल आउन नपाउने गरी उनकै देश फ्रान्स पठाउने तयारी गरिएको छ ।सर्वोच्च अदालतको आदेशपछि रिहा भएका शोभराजलाई फेरि नेपाल आउन नपाउने गरी उनको देश पठाउने तयारी भइरहेको अध्यागमन विभागका अधिकारीहरूले बताएका छन् ।

केन्द्रीय कारागारमा रहेका उनलाई आज कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाउने तयारी छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः नेपाल आउन नपाउने गरी शोभराजलाई फ्रान्स पठाउने तयारी भइरहेको हो ।

सर्वोच्च अदालतले शोभराजलाई रिहा गरेर १५ दिनभित्र स्वदेश फर्काउन बुधबार आदेश दिएको थियो । केन्द्रीय कारागारबाट बिहीबारै अध्यागमन विभागको जिम्मा लगाउने तयारी भए पनि शोभराजले रिहा हुन नमनेपछि थप प्रक्रिया आज सुरु हुन लागेको हो । उनी बिहीबार पाहुनाकै रूपमा केन्द्रीय कारागारमा बसेका छन् ।

दुई अमेरिकी पर्यटकको हत्याको अभियोगमा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि शोभराजलाई सुन्धारा कारागारको गोलघरभित्र राखिएको थियो ।

सर्वोच्चले कारागार नियमावली २०२० को नियम २९ (२ क) अनुसार जेलमुक्त गर्न आदेश गरेको हो । उक्त नियमअनुसार ६५ वर्ष उमेर पुगेका कैदीहरूलाई असल चालचलनको आधार र गम्भीर प्रकारको रोग लागेमा ७५ प्रतिशत कैद काटिसकेका कैदीको कैद सजाय मिनाहा गर्न सकिने व्यवस्था छ ।

सोही कानुनी व्यवस्थाका आधारमा सर्वोच्चले उनलाई जेलमुक्त गरेर १५ दिनभित्र फ्रान्स फर्काउन आदेश गरेको थियो । सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई जेलमुक्त गर्ने आदेश गरेको हो । शोभराज २०६० सालमा काठमाडौंको दरबारमार्गबाट पक्राउ परेका थिए ।

यस्तो छ शोभराजको अपराधको शृंखला

७८ वर्षअघि ६ अप्रिल १९४४ मा भियतनामको साइगनमा भारतीय बुबा र भियतनामी आमाबाट चार्ल्सको जन्म भयो । तर, उनका बुबाले चार्ल्सलाई छोरो स्वीकार गरेनन् । फ्रान्सेली उपनिवेश भियतनाममा जन्मिएका उनले फ्रान्सेली नागरिकता लिए । उनी विभिन्न देश घुम्म थाले ।

सुरुवाती दिनहरूमा चार्ल्समाथि फ्रान्समै विभिन्न खाले सनातिना अपराध गरेको रिपोर्ट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा प्रकाशित छन् । तर, सिरियल किलर भने सन् १९६३ मा एसियाका देशहरूमा घुम्म निस्केपछि बनेका हुन् ।

शोभराजको निशानामा आफूजस्तै घुम्न आएका पर्यटक र युवती हुने गर्थे । शोभराजमाथि नेपालबाहेक थाइल्यान्ड, भारत, टर्की र इरानमा गरी २० भन्दा बढी हत्याको आरोप छ । नेपालबाहेकका जेलबाट भने शोभराज जेल तोडेर भागेका हुन् ।

यसअघि फ्रान्सेली पर्यटकलाई विष खुवाएर हत्या गरेको अभियोगमा भारतको तिहाड जेलसमेत बसेका थिए । त्यहाबाट पनि उनी भाग्न सफल भएका थिए । नेपाल आउनुअघि उनी थाइल्यान्डमा पक्राउ परेका थिए भने उनलाई मृत्युदण्ड भइसकेको हुन्थ्यो । थाइल्यान्डमा उनीमाथि पाँचवटा व्यक्तिहत्याको आरोप छ ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार