काठमाडौँ
एकपटक सोचौँ न । ८० वर्षको उमेर, विगत ३० वर्षदेखि एक्लै गाई गोठमा बसाइ, न त पानी छ, न बिजुली नै, छ त केवल प्लास्टिकले छाएको छानोसँगै साथीको नाउँमा एउटा गाई । जाडोको महिना छ, कस्तो हुँदो हो रात कटाउन बज्यैलाई ? जति गाह्रो भए पनि कछुवाले बच्नकै लागि आफ्ना सम्पूर्ण इन्द्रियहरूलाई सजिलै लुकाएझैँ परिस्थितिले पनि बज्यैलाई कछुवालाई झैँ खुब सिपालु बनायो, जसबाट उनले आफ्ना सम्पूर्ण दु:ख र पीडाहरू सजिलै लुकाउन सकिन् । त्यसैले त उनी अहिलेसम्म पनि बाँचिरहेकी छिन् l
१९९९ साल फागुन मसान्तमा ताराखोला गाउँपालिका- १, माझखर्कमा बुबा स्व. भीमलाल नाइसा र आमा रैमाया नाइसाका सात सन्तानमध्ये एक सन्तान हुन् आरन्ती पुन । उनलाई गाउँका मान्छेले गाई बज्यै भनेर चिन्दा रहेछन् । यसको कारणचाहिँ उहाँले जीवनभर गाई पालेर बसेकाले रहेछ ।
अहिले उमेरले ८० वर्ष दौडिँदै गर्दा उनको अनुहारमा परिस्थितिको प्रतिबिम्ब प्रस्टसँग देख्न सकिन्छ । त्यस्तैत्यस्तै भयो पुस २ गतेको बिहान । उनलाई मैले छिमेकीको घरमा भेट्टाएँ । अनुहार सुन्निएको थियो उनको, सायद चिसोले हो कि ! जब म उनीबारे जानकारी लिन उनको गोठमा पुगेँ, मलाई योगसूत्रको याद आयो, जहाँ भनिएको छ- त्यो एक्लै ज्यान, जसलाई जानेपछि जान्न बाँकी केही रहन्न । बज्यै मेरो लागि त्यही एक थिइन्, जसलाई मैले बुझेपछि दु:खबारे मलाई जान्न बाँकी केही रहन्न ।
उनको गोठ पुग्दा गोठको सेतो प्लास्टिकले छाएको छानो, थोत्रा कपडाहरूको पोको, चर्किएको गोठको भित्तो, भाँचिएका भार/काठहरू, एउटा गाई, भान्सामा सुधारिएको चुलोसँगै यत्रतत्र छरिएका प्लास्टिक र सिल्टेका भाँडाहरू । लाग्यो, उनको मन पनि सेतो प्लास्टिकजस्तै निर्मल र पारदर्शी छ, गाईजस्तै इमानदार छ उनको व्यवहार, भार/काठजस्तै भाँचिएका छन् उनका सपनाहरू, सुधारिएको चुलोमा सायद विरलै पाक्छ होला पोसिलो परिकार ।
थोत्रा कपडाका पोकाहरूझैँ झुन्डिएका छन् होला उनका वेदनाका पोकाहरू, छरपस्ट भाँडाहरूझैँ छरिएका छन् होला उनका बाध्यताहरू । बाँधिएको छ उनको निष्ठुर जिन्दगी, नजिकैको गाई बाँध्ने किलोमा । त्यसैले सजिलैसँग भन्न सकिन्छ कि उनको गोठ उनको जीवनको प्रतिबिम्ब बनी ठिङ्ग उभिएको छ ।
१६ वर्षमा टेकबहादुर पुनकी कान्छी श्रीमती बनेकी उनी बैँसमा झाम्रे, यानीमायालगायतका गीतहरू गाउन र नाच्न खुबै सिपालु थिइन् ।
दिनभरि हुद्दा खेताला गर्ने अनि रातभरि तिनै दु:ख, सुख, उकाली, ओराली, अक्कर अनि भन्ज्याङ चौतारीका गीत गाउने उनी अहिले ढल्दो उमेरसँगैका कठोर बाध्यताको संगीत सुन्न बाध्य छन् । सहारा चाहिने उमेर हो उनको अहिले । तर, नियतिले नि:सन्तान बनाएसँगै विगत दुई दशकपहिले श्रीमान् खसेपछि त झनै रित्तिए उनका आशाका आधारहरू । श्रीमान्को मृत्युपछि समाजले एकल महिलालाई हेर्ने दृष्टि फरक भएको बज्यैको बुझाइ रहेछ । हामीहरूलाई देख्दा पनि सायद उनलाई लाग्दो हो, मेरो पनि यस्तै छोराछोरी भैदिएको भए जीवन कत्ति रमाइलो हुँदो हो है !
‘जीवन के रहेछ नि बज्यै’ भन्ने मेरो प्रश्नमा उनी एकैछिन घोप्टे मुन्टो लगाएसँगै अड्कियो उनको वाक्य र छायो अन्धकार उनको अनुहारमा । के हो के हो, यस्तै हो बाबु भन्दै एकछिन रोकिएर उनले जवाफ फर्काइन् । उनको शब्दमा देखिएको संशय नै सायद उनले खोजिरहेको अस्तित्वको अर्थ हो । बुबा, आमा र सबै दाजुहरूलाई जंगल पठाएँ भन्ने बज्यैको बोलीमा मिठाससँगै अलंकारको लालित्य भेट्न सकिन्छ ।
उनको गोठमा न त बिजुली छ, न त पानी नै । कैयौँचोटि मतदान गरेकी बज्यै आफ्नो पक्षमा बोलिदिने भने कोही नभएको उनी बताउँछिन । अन्धकार हटाउन जूनकै भर पर्नुपर्ने कस्तो बाध्यता ? बज्यैको एक औँठाछापले नेतृत्वको जीवन बदलियो तर उनलाई सधैँ औँठाछाप नै बनाइरहे । मैले उनको समस्यालाई सम्बोधन गर्न भनी शिलापत्रलाई लेखेको ‘ए अहङ्कारका पिर्काहरू’ शीर्षकको कविता:
त्यो घना जंगल
खरको झुप्रोले
कुरिरहेछ
ती विधवा बज्यैका अस्तित्वका थुप्राहरू ॥
उहु-उहु गर्दै
पटुकीमा कनिका भर्दै
उदिनमा उदाएको त्यो धारिलो आँसी
हेर्दै ती बुढा गाईहरू हाँसिरहेछन् ॥
त्यो सुरिलो दुधिलाको बुटो
सम्झँदा-सम्झँदै
लरक्क लर्किएर पैतालामा लागेको चोटमा
आवश्यक पर्ने मलमपट्टी केवल भोटको प्रतीक्षामा छ ॥
झोर परेका उनका पैतालाहरू
वृक्षरोपणको आस मानिरहेछन्
भोकले कुखुराहरू कराइरहेछन्
नियति अह्राइरहेछ ॥
उनको कालिकुट परेको
कम्मरमा बेरिएको
पटुकीले
रक्तरञ्जित तस्वीरहरू कोरिरहेछन् ॥
कानमा हालिएका डाँठका सुत्लाहरू
अँगेनोमा जोरिएका ती ठूल्ठूला बाजका मुढाहरू
उनको त्यो गृष्मकालीन शरीरसँग
त्यो बुढो शरीरसँगै मसानघाटमा जान पाएकोमा दंग परिरहेछन् ॥
उनी त्यो चुहिन लागेको जीवनमा,
नेताले काटेको रिबनका टुक्राहरूको
प्रतीक्षामा छिन् ।
त केवल उनको फुको र फुलेको कपाल बाँध्नलाई ॥
ए, अहङ्कारका पिर्काहरू,
अनि बज्यैका ती चौँठीमा तेल कुरिरहेका बिर्काहरू,
टोलाइका उनका बाटाहरूमा ती चर्काइहरू मेट्न,
माहाशय, आतुर छन् रौरब, केवल तिम्रो शिर मर्काउनलाई ॥
जब मैले उनलाई सोधेँ, ‘बज्यै, हजुरलाई कसैले गोठको छानो फेरिदियोस् भन्ने लाग्दैन ?’
उनले भनिन्, ‘लाग्दैन । किनकि मेरो गोठले न त ढुंगाको छानो थेग्न सक्छ, न त टिनको नै । बरु मलाई त एउटा अलिक बाक्लो खालको पाल ल्याएर छानो ढाकिदिए पुग्छ बाबु ।’
यसबाट बुझ्न सकिन्छ कि उनको आशा न्यूनतम छ तर पूरा गरिदिने मान्छेको सधैँ अभाव । जाडोको महिना छ अहिले, त्यसैले उनी अरुकै घरमा बस्दै आएकी छन् । ८० वर्षको उमेरमा भए पनि उनलाई यदि एउटा सामान्य गोठ मात्र पनि बनाइदिन सके कति ठूलो पुण्य होला ? विचार गरौँ त ।
हुन त उनी अरुकै घरमा बस्दाबस्दै अरुका धेरै बच्चाहरू हुर्काइन् । त्यसमध्येकी सोही बिहान मैले भेटेकी पात्र हुन् छिमेककी ८ वर्षीया फूलमाया, जो उनीसँगै सुत्छिन् सधैँ । ‘बदैले मलाई फुलन दाना, ताउताउ,बिस्कुत लेइदिनुहुन्छ, भत्ता बुझेर आउँदा’, उनले तोते बोलीमा भनिन् ।
यस्तै, अर्का पात्र हुन् रुद्र जसले सानैदेखि बज्यैसँगै बिताएको सम्झिँदै लेख्छन्:
यो जिन्दगी पनि कस्तो अचम्मको खेल रहेछ क्या ! कसैलाई जन्मेदेखि नमरुञ्जेलसम्म दु:ख र पीडाको महसुस नहुने, कसैलाई पल समय सेकेन्डमा पनि दु:ख पीडा खेप्नुपर्ने । धेरै अचम्म लाग्छ, चिन्ता लाग्छ, याद आउछ, अनि सम्झन्छु । त्यो भत्किनै लागेको गोठ, एक्ली बज्यै, प्लास्टिकको छानो, सायद मैले थाहा पाउँदा त्यस्तै थिइन् र अहिले पनि त्यस्तै छिन् ।
कैयौँ समय हामी सँगै मेलापात गरेको, घाँस, दाउरा, पानी पँधेरो गरेको निकै याद आउँछ । लेख्नलाई कुनै शब्द नै छैन, कुन शब्दले सम्मान गरूँ ! मलाई सम्झना छ अझै त्यो दिनको, जुन दिन हामी झमक्क साँझ परेको बेला जङ्गलबाट घाँसदाउरा गरेर फर्कने क्रममा मलाई भनेकी थिइन्– बाबु तँ लाहुर गएर आउँदा म हुँदैन होला । म नभए पनि एउटा पछ्यौरी ओढाउन मलाई राखेको ठाउँमा आएस् है !
म अहिले आएर झसङ्ग भएँ । मलाई सधैँ बाबु भनेर बोलाउने गर्छिन् । मलाई खुसी लाग्छ । अरुले बोलाउँदा ‘हजुर’ भनेर बोल्नुपर्छ भनेर सिकाउने पनि उनै बज्यै हुन् । कतिपय समय रमाइलो भयो होला, कतिपय समयमा कठिनाइ पनि भयो होला । दु:ख बिमारी पर्दा घरमा पानी दिने पनि कोही छैन । आफ्नो सन्तान पनि कोही छैन । एउटा भनाइ छ नि ‘बोलिदिने मान्छे धेरै हुन्छन्, तर सोधिदिने मान्छे कोही हुँदैनन् ।
सम्झिएको छु, बज्यै घरको सम्झना आउँदा सम्झने एक पारिवारिक सदस्यजस्तै हुन् ।
सायद हामीले ती नानुले बज्यैलाई गरेको झैँ प्रेम नेतृत्व तहबाट भइदेएको भए समस्या उहिल्यै समाधान हुन्थ्यो तर सत्ताका मान्छे यस्ता पात्रका न कुरा सुन्दारहेछन्, न त काम नै गरिदिँदारहेछन् । बज्येकै प्रसङ्ग, जब मैले कतार बस्ने कवि, लेखक तथा समालोचक मित्र रूपजी (पुछार घरे) सँग सारा बेलीबिस्तार लगाएँ, त्यसपछि उहाँ निकै बेर भावुक पनि हुनुभयो र सहयोगको चचन दिनुभयो । त्यसपछि त म निकै बेर बज्यैको अनुहारको काल्पनिक खुसीमा हराएको थिएँ ।
उनको स्वास्थ्य राम्रो छैन । उमेर र अवस्थाको बोध हामीलाई हुनु जरुरी छ । त्यसैले हाम्रो काँधमा एउटा जिम्मेवारी र चुनौती थपिएको छ । त्यो हो, बज्यैलाई हामीले आफ्नै आवास निर्माण गरी आनन्दले घरमै या आर्यघाटमा सुताउने ? यो हजुरहरूको हातमा छ । @shilaptra