काठमाडौँ
राष्ट्रपतिले सरकार बनाउन दिएको समयसीमा सकिनैलाग्दा सत्ता गठबन्धनका नेताहरूले दौडधुप तीव्र पारेका छन् । शनिबार बिहान नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरे । भेटमा गठबन्धनलाई अगाडि बढाउनेबारे कुरा भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
प्रचण्डले चुनावपछि आफूलाई प्रधानमन्त्री बनाउने सहमति भएकाले सहमति लागू गर्नुपर्नेमा जोड दिए भने पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर कुरा टुङ्ग्याउन भनेका अधिकारीले बताए ।
पौडेलले वर्तमान गठबन्धनलाई कायम राख्नुपर्नेमा जोड दिँदै आएका छन् । तर गठबन्धनलाई निरन्तरता दिनको लागि भए पनि आफूले पहिला प्रधानमन्त्री पाउनुपर्ने प्रचण्डकाे अडान छ ।
सत्ता गठबन्धनमा ‘पावर सेयरिङ’को कुरा मिलिसकेको छैन । बिहीबार गठबन्धनका तीन शीर्ष नेताहरूबीच छलफल भए पनि निस्कर्षबिना सकिएको थियो । शुक्रबार पनि देउवा र प्रचण्डबीच भेट भएको थियो । तर भागबण्डामा कुरा नमिलेको बताइन्छ ।
शुक्रबार देउवा-प्रचण्डबीच भेटवार्ता सकिएपछि कांग्रेस नेताहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । उक्त बैठकमा गठबन्धनलाई कसरी अगाडि लैजाने र प्रचण्डकाे अडानलाई कसरी सम्बाेधन गर्ने भन्नेमा छलफल भएको बताइएको छ ।
पौडेलसँग भेटघाट भएपछि प्रचण्ड नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भेट्न कोटेश्वर गएका छन् । प्रचण्ड र नेपालबीच पनि सरकार बनाउने विषयमा छलफल हुने बताइएको छ ।
सरकार बनाउन राष्ट्रपतिले दिएको समयसीमा भाेलि सकिँदै छ । सत्ता गठबन्धन जसरी पनि भोलि सरकारको नेतृत्व गर्नेगरी पावर सेयरिङ गरिसक्नु पर्ने दबाबमा छ । तर शनिबारसम्म कुरा मिलेको छैन ।