प्रचण्ड देखेर देउवा डराउने, देउवा देखेर प्रचण्ड डराउने स्थिति आयोः चित्रबहादुर केसी

काठमाडौं ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सहमतिको विकल्प नभएको बताएका छन् ।

नेपाली राजनीतिमा यो नयाँ कुरा होइन । जोगी देखेर भैंसी डराउने, भैंसी देखेर जोगी डराउने भनेजस्तो प्रचण्ड र शेरबहादुर देउवा एकअर्कासँग डराइरहेको स्थिति छ ।

दुई वर्षपछि अविश्वास प्रस्वाव आउने, सरकार ढल्ने र मध्यावधिमा जाने डरले पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्ने लुछाचुँडी छ । मेरै गोरुको बाह्रै टक्का, मै पहिले हुनुपर्छ भन्दा टुंगो लाग्दैन । देशको तस्बिर सहमतिको मिलनबिन्दु खोज्नुपर्छ । अब सहमति नगरी सुखै छैन, केसीले भने ।

पाँच दलीय गठबन्धनभित्रैको बदमासीका कारण संसद् त्रिशंकु भएकाले अहिले प्रधानमन्त्रीका निम्ति हानथाप भएको पनि उनले बताए । केसीले थपे, पाँच दलीय गठबन्धन इमानदारीपूर्वक चुनावमा गएको भए स्पष्ट बहुमत आउन सक्थ्यो ।

अहिले केही सिट पुगेको छैन । यो सफलताको दुरुपयोग गर्नुहुन्न । दुनियाँ हँसाएर हुन्न । होचो अल्को मिलाएर मुलुक सम्हालेर लानुको विकल्प छैन । मलाई नै चाहिन्छ भनेर जिद्दी गर्नुहुँदैन ।

नेता केसीले राष्ट्रपतिमा राजनीतिक व्यक्ति नै चाहिने पनि जिकिर गरे । उनले भने,मैले को राष्टपति बन्ने भन्ने किटान गर्न सक्दिनँ । तर गैर राजनीतिक व्यक्ति बन्नुहुन्न । यसले जनतामा झन् नैराश्यता छाउँछ ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार