धनकुटा :
नेकपा (एमाले) का उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धनबिना मुख्य राजनीतिक दलहरू मिलेर समझदारीमा अघि बढे एमाले सरकारमा जान सक्ने संकेत गरेका छन् ।
सत्ता गठबन्धनका कारण मुलुक अधोगतितर्फ लागिरहेको भन्दै मुख्य दलसँग समझदारी कायम गर्न जरुरी रहेको उनको कथन थियो ।
प्रेस चौतारी नेपाल धनकुटाले आयोजना गरेको पत्रकार भेलामा सहभागी एमाले उपाध्यक्ष ईश्वर पोखरेल । तस्बिर : रमेशचन्द्र अधिकारी/कान्तिपुर
प्रेस चौतारी नेपालले धनकुटामा शनिबार बिहान आयोजना गरेको पत्रकार भेलामा पोखरेलले उक्त कुरा बताएका हुन् । सत्ता गठबन्धन लोकतन्त्रको हितमा नभएको भन्दै पोखरेलले गठबन्धन रहुन्जेल आफ्नो पार्टी सरकारमा जान नसक्ने स्पष्ट पारे ।
गठबन्धनका कारण मुलुकमा सामाजिक सांस्कृतिक रुपमा समेत अधोगतिमा लागेको उनको कथन थियो । गठबन्धन दलबाटै सरकार बनाउने खिचडी पाक्नेमा विश्वस्त नरहेको भन्दै यसको विकल्प नै मुख्य दलहरूको एकता जरुरी रहेको बताए । ‘गठबन्धन रहुन्जेल एमाले सरकारमा जान सक्दैन,’ उनले भने, ‘यदि मुख्य राजनीतिक दलहरूबीच समझदारी कायम रहे एमालेले सोच्नेछ ।’
यसैगरी, नेता पोखरेल मुख्य दलबीचको समझदारी कायम गर्न कांग्रेस बाधक रहेको उल्लेख गरे । उनले निर्वाचनमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने भन्नेहरूलाई जनमतले गतिलो जवाफ दिएको बताए । फरक प्रसंगमा पोखरेलले निर्वाचनमा आफ्नो पराजयको मुख्य कारण गठबन्धनलाई चिर्न नसक्नु भएको बताए ।