पार्टीको निर्देशन नमानेपछि गण्डकीका सांसद थापाको पार्टी सदस्यता र सांसद पद दुवै चैट

काठमाडौँ ।
पार्टीको निर्देशनविपरीत नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरूङलाई मुख्यमन्त्री बनाउन साथ दिएको भन्दै गण्डकीका सांसद कृष्ण थापालाई जनमोर्चाले कारवाही शुरू गरेको छ ।

पार्टीले जारी गरेको ह्विप उल्लङ्घन गर्दै उनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन रोकेको भन्दै पार्टी सदस्य र सांसद पद नै नहरने गरी कारवाही शुरू गरिएको हो ।

जनमोर्चाको केन्द्रीय समिति बैठकका निर्णय, थापाकै अध्यक्षतामा वैशाखमा बसेको संसदीय दलको बैठक निर्णय र पार्टी ह्विप समेत थापाले उल्लङ्घन गरेका थिए।

सोही कारण जनमोर्चाको शनिबार बसेको केन्द्रीय समितिको बैठकले कारबाही गरेको छ।

पार्टी केन्द्रीय सदस्य रहेका थापालाई पार्टीको सबै जिम्मेवारीबाट निष्काशन गर्ने र १ वर्षसम्म पार्टी साधारण सदस्यबाट समेत निलम्बन गर्ने बैठकले निर्णय गरेको छ। जनमोर्चाका अनुसार थापा १ वर्षका लागि पार्टी सदस्यबाट समेत निष्काशित भएका छन्।

पार्टीको साधारण सदस्यबाट समेत निष्काशन भएपछि राजनीतिक दल सम्बन्धी ऐन अनुसार थापा संसद सदस्यबाट समेत निष्काशन हुँदैछन्। राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले पार्टी सदस्यबाट समेत निष्काशन भएको व्यक्ती स्वतः संसद सदस्यबाट समेत निष्काशन हुने उल्लेख छ।

जनमोर्चाले १ वर्षका लागि पार्टी सदस्य समेत नरहने गरी कारबाही पाएका थापाको संसद पद खारेज हुँदा १ बर्ष पछि फेरि फर्केर आउँदैन। पार्टीले साधारण सदस्य समेत नरहने गरी गरेको निर्णय फिर्ता हुँदा संसद सदस्यबाट निष्काशित व्यक्ति फर्केर फेरि सदनमा आउन सक्ने व्यवस्था नभएको संसद सचिवालयले जनाएको छ।

पार्टी सदस्यसमेत नरहने गरी सांसद थापालाई कारबाही गरेको निर्णय प्रदेश सभा सचिवालयमा प्राप्त हुँदा थापा संसदबाट समेत निष्काशन हुने गण्डकीका सभामुख नेत्रनाथ अधिकारीले बताए। उनले भने, ‘जनमोर्चा केन्द्रीय समितिको निर्णय मैले थाहा पाएँ, संसद सचिवालयमा जानकारी आउनासाथ प्रक्रिया अघि बढ्छ।’

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !