झलनाथ खनालले भने – ‘गद्दार’ ओलीको कारवाहीले डराउदैनौँ, नयाँ पार्टी खोल्छौँ

काठमाडौँ । पार्टीको कारवाहीमा परेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीले आफूहरूलाई गरेको निष्कासनको कुनै अर्थ नहुने बताएका छन् । उनीसहित ११ जना नेतालाई एमाले स्थायी कमिटीले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेकोप्रति प्रतिक्रिया दिँदै उनले भने, ‘कम्युनिस्ट विचारमा निष्ठावान हामीलाई कम्युनिस्ट आन्दोलनका गद्दारले गरेको कारबाहीको कुनै अर्थ हुँदैन ।’ प्रतिगामी कदममार्फत संविधान लोकतान्त्रिक पद्धति र कम्युनिस्ट आचरणको पार्टी सिध्याउने खेलमा ओली लागेको उनको भनाइ छ । ‘पहिला स्वेच्छारी प्रवृत्तिको विरोध गर्दा नेकपा विभाजन गर्दै विघटनको अवस्थामा पुर्‍याए ओलीले एमालेलाई पनि सिध्याउने मनसायले अघि बढेका छन्’, उनले भने ।

ओलीको कदमविरुद्ध नयाँ पार्टी खोलेर संविधान र लोकन्त्रका पक्षधरहरूलाई समाहित गर्दै उनको प्रतिगमनको सशक्त प्रतिवाद गर्ने खनालको भनाइ छ । सोमबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटीले खनालसहित माधव नेपाल, भीम रावल, मुकुन्द न्यौपाने, निरादेवी जैरु, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिना खान, लक्ष्मीकुमार चौधरी र कल्याणी खड्कालाई साधरण सदस्य समेत नरहेन गरी निष्कासन गरेको थियो । यसअघि शनिबारको बैठकले स्पष्टीकरण सोधिएका यी नेताहरुले जवाफ नदिएको कारण थप कारबाही गर्ने निर्णय गरेको हो ।खासगरी सर्वोच्च अदालतबाट ब्यूँतिएको एमालेमा ह्वीप उल्लंघन, विपक्षीसँग मिलेर चुनावमा आफ्ना नेतालाई पराजित र विपक्षीकै नेतृत्वमा सरकार बनाउने कोशिश गरेको आरोप लगाएर नेपालसहित ११ जना सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गर्ने निर्णय ओलीले गरेका छन्।

सुरेन्द्र पाण्डेसहित थप १२ जनालाई स्पष्टिकरण- यस्तै, बैठकले अरू १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। आज रिट निवेदनमा २३ जना सांसदले हस्ताक्षर गरेको विषयमा पनि गम्भीर छलफलल भएको थियो। कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै एमालेका २३ जना सांसदले हस्ताक्षर गरेका छन्। स्पष्टिकरण सोधिनेमा निवर्तमान सांसदहरु विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, झलनाथ खनाल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दिपक प्रकाश भट्ट, नारायण खतिवडा रहेका छन् ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !