निर्दलीय अभ्यास भन्नेहरुलाई देउवाले दिए कडा जवाफ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानको धारा ७६ को ५ बमोजिम आफूले बहुमत सदस्यसहितको दावी गर्दा निर्दलीय अभ्यास भन्नेहरुले संविधान नै नबुझेर टिप्पणी गरेको बताउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नबुझेको कडा टिप्पणी गर्दै उहाँले संविधान नबुझेका र नपढेकाहरुले नै गठबन्धनले गरेको दावीलाई विरोध गरेको बताउनुभयो ।

प्रेस युनियनको ३१ औं स्थापना दिवसमा आज भर्चुअल सम्बोधन गर्दा राष्ट्रपतिले संविधानको ठाडो उल्लंघन गरेको भन्दै उहाँले प्रधानमन्त्रीमा दुवै पक्षको दाबी परेपछि छलफलका लागि बोलाउनुपर्नेमा मध्यरातमा संसद् विघटन गरेको भन्दै आलोचना गर्नुभयो ।

प्रधानमन्त्रीले भन्दैमा यो राष्ट्रपतिले मान्ने विषय नभएको भन्दै देउवाले सर्वाेच्च अदालतले न्याय दिनेमा ढुक्क रहेको बताउनुभयो ।

संविधानमाथि भइरहेको हस्तक्षेप रोक्ने भूमिका भनेको सर्वाेच्चको रहेको भन्दै उहाँले संविधानको धारा ७६को ५ राम्रोसँग बुझेर टिप्पणी गर्न विरोधीहरुलाई आग्रह समेत गर्नुभयो ।

‘हामी संविधानको धारा ७६ को ५ अनुसार सांसदको हस्ताक्षर लिएर राष्ट्रपतिकोमा गएको हो,’ उहाँले भन्नुभयो, ‘यो निर्दलीय अभ्यास होइन। संविधानकै धाराअनुसार हो। निर्दलीय भन्नेहरूले संविधानको धारा ७६ को ५ पढ्नु त्यहाँ कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गरेमा त्यस्तो सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्छ भन्ने छ।’

गत शुक्रबार देउवासहित विपक्षी ५ दलीय गठबन्धनले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री दाबी गर्न राष्ट्रपति कार्यालय पुग्नुभएको थियो । तर त्यो भन्दा अघि नै राष्ट्रपति कार्यालय छिर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि १५३ सांसदको दावी गर्दे प्रधानमन्त्रीको दावी गर्नुभएको थियो ।

दुवैको दाबी नपुग्ने भन्दै सरकारको सिफारिसमा राष्ट्रपतिले मध्यरातमा प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । उक्त कदमविरुद्ध हाल सर्वाेच्चमा दुई दर्जन रिट परेका छन् ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !