किन गए ओली अचानक शितल निवास ?

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच बुधबार साँझ करिब २ घण्टा छलफल भएको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न बेलुकी साढे पाँच बजे शीतलनिवास गएको र करिब दुई घण्टापछि त्यहाँबाट फर्केको स्रोतले जानकारी दियो।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले केही दिन अगाडि (जेठ ६ गते) मात्रै कोभिड संकट व्यवस्थापन सम्बन्धी अध्यादेश २०७८ जारी गरेकी थिइन्। सरकारले महामारी नियन्त्रणका लागि आवश्यकताअनुसार स्वास्थ्य संकटकाल जारी गर्न सक्ने समेत अध्यादेशमा व्यवस्था गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकमा समेत स्वास्थ्य संकटकाल लगाउने विषयमा छलफल भएको थियो। ओलीकै सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेको र राजनीतिक अस्थीरताका बीच प्रधानमन्त्री ओलीले संकटकाल जारी गर्न खोजेको चर्चाका बीच बुधबार साँझ राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो।

स्रोतले भने राष्ट्रपति र प्रधानमन्त्रीबीच बुधबार साँझ कुन विषयमा छलफल भयो भन्ने कुरा खुल्न नसकेको जनाएको छ। जेठ ७ गते मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि राजनीतिक ध्रुबीकरण तीब्र बनेको छ। राष्ट्रपति र प्रधानमन्त्री दुवैविरुद्ध प्रतिनिधि सभाका १४६ जना सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। नेपाली कांग्रेसहितका विपक्षी दलहरुले राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध कानूनीबाहेकको संघर्ष पनि अघि बढाउने निर्णय गरेका छन्।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !