उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ दुखेसो ‘न घर छ न जग्गा छ, भएको पैतृक सम्पत्ति बेचेर ऋणपान तिरेँ’

काठमाडौं ।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू शक्ति र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको बताएका छन् ।

मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले पद र शक्तिका लागिभन्दा पनि देश सेवाभावले केही गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको बताए ।

उनले आफूसँग अरू कुनै चलअचल सम्पत्ति तथा एक कित्ता सेयर पनि नरहेको बताए । “राष्ट्रियसभा सदस्य भएकाले त्यही एउटा राष्ट्रियसभाले खोलिदिएको बैंक खाता छ । अरू कुनै बैंक खातामा एक रुपैयाँ पनि छैन,” उनले भने, “न घर छ न जग्गा छ, भएको पैतृक सम्पत्ति पनि बेचेर ऋणपान तिरेँ । बाँकी रहेको पैसा पार्टीकै लागि दिएको छु ।”

आफूलाई यहाँसम्म आइपुग्न प्रतिष्ठान र आफ्ना नातेदारको भूमिका पनि महत्त्वपूर्ण रहेको उनले बताए । “तपाईंहरूले मलाई कुनै अनावश्यक काम गर्न दबाब दिनु भएन ।

तपाईंहरूको हौसला मेरा लागि सधैँ प्रेरणा बन्यो,” उनले भने, “ऐन, नियमविपरीत तपाईंहरूले मलाई काम गर्न कुनै दबाब दिनु भएन र त म अहिले यहाँ छु ।”

कार्यक्रममा प्रतिष्ठानका सचिव समेत रहेका मनोबाबु श्रेष्ठले माओवादी शान्ति प्रक्रियामा आउँदादेखि हालसम्म पनि नेता श्रेष्ठको भूमिका सधैँ केन्द्रमा रहेको बताए । उनले मन्त्री श्रेष्ठको काम गराइले अहिलेको सरकार पनि जनमुखी हुने विश्वास व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार