काठमाडौँ ।
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो गर्ने र राम्रो बाहेक अरू नगर्ने रहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्ताहरूलाई निवास बालुवाटारमा निर्देशन दिँदै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी भएको बताउँदै गर्न चाहे हुने रहेछ भन्ने आभास जनतामा दिलाउन सकिने बताए । उनले भने, ‘दुःख, मेहनत, त्याग र तपस्या जेजे गरेर हुन्छ राम्रो गर्नु पर्दछ ।
आफूले गरेको राम्रो कामको प्रचार नगरेर पनि हामीले दुःख पाएको हो । मध्य पहाडी लोकमार्गदेखि उत्तर–दक्षिण कोरिडोर म पहिलो पटक प्रधानमन्त्री भएपछि प्रस्तावित गरेका परियोजना हुन् । अहिले नेपाल त्यतै हिँडिरहेको छ । तर ती माओवादीले गरेका परियोजना भनेर स्थापित भने भएका छैनन् ।’
अहिलेको परिवर्तनका लागि मुख्य भूमिका खेलेको र उज्यालो नेपाल जस्ता विकास कार्यक्रममा माओवादीकै नेतृत्व र पहलमा भए पनि त्यसको स्वामित्व लिनेमा समस्या भएको उनको भनाइ थियो । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने र समाजवादी फोरम बनाउने चर्चा परिचर्चा चलिरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।
कर्णाली प्रदेशमा आफ्नो पार्टी सबैभन्दा अगाडि रहेकोमा खुसी व्यक्त गर्दै सो क्षेत्रको विकासका लागि वर्तमान सरकारको ध्यान रहेको बताए । प्रधानमन्त्रीले कर्णालीमा बन्ने आगामी सरकारले कर्णालीका जनताका निम्ति र कर्णाली प्रदेशका निम्ति आर्थिक विकासमा गति दिने, जनतासँग जीवन्त सम्बन्ध बनाउने र जनताको विश्वास जित्ने काममा लाग्न निर्देशन दिए ।