गृहमन्त्री रवि लामिछानेले आफ्नी श्रीमतीको जन्मदिन ‘केक’को सट्टामा किन ‘जुजु धौ’ दहि काटेर मनाए ?

काठमाडौं ।

राजनीतिमा लागेदेखि रवि लामिछाने हरेक कुरामा फरक अभ्यास गर्न खोजिरहेका छन् । जस्तो कि हिजो उनले आफ्नी श्रीमतीको जन्मदिन पनि फरक तरिकाले मनाए ।

जन्मदिनमा केक काटेर सेलिब्रेसन गर्ने आम प्रचलन छ । पश्चिमा समाजबाट भित्रिएको यो प्रचलन अहिले नेपालको कुनाकाप्चामा पनि व्याप्त भइसकेको छ । त्यसलाई अलिकति तोडमोड गर्दै गृहमन्त्री लामिछानेले श्रीमतीको जन्मदिनमा भक्तपुरको जुजु धौ काट्न प्रस्ताव गरे ।

श्रीमान्‌को प्रस्तावमा निकिता पनि तयार भइन् । केकको ठाउँमा जुजु धौ काटियो भने मैनबत्ती निभाउनुको साटो दियो बालियो । कतारोको दही काटेर निकिताले श्रीमान्‌लाई खुवाइन् । रविले पनि निकितालाई खुवाए ।

निकिताले फेसबुकमा लेखेकी छन्, ‘एउटा मौलिक ढंगको बर्थ डे सेलिब्रेसन भयो । शुभकामना दिनुहुने सबैलाई धेरै धन्यवाद ।’

रविले हिजो सामाजिक सञ्जालबाट पनि श्रीमतीलाई जन्मदिनको शुभकामना दिएका थिए । उनले शुभकामना सन्देशमा निकिताको खुलेर तारिफ गरेका छन् ।

उनी लेख्छन्, ‘मलाई थाहा छ, मेरो सफलताको लागि तिमीले आफ्ना कयौं सपना कतै लुकाएकी छौ ।

आफ्नो परिवारको त्यति ठूलो व्यापारिक विरासत , विश्व विख्यात युनिभर्सिटीको उच्च शैक्षिक योग्यता, उच्च अहोदाको सरकारी सेवा अनुभव, १५ वर्षदेखि एक प्रख्यात सञ्चारमाध्यमको सञ्चालनजस्ता कयौं योग्यता र क्षमता आफैँसँग हुँदाहुँदै पनि मेरै सफलतालाई तिमीले आफ्नो लक्ष्य बनायौ ।’

निकिता रविकी दोस्रो श्रीमती हुन् । पहिलो श्रीमती इशा लामिछानेसँग सम्वन्धविच्छेदपछि उनले निकितासँग विवाह गरेका थिए । इशाका तर्फबाट रविका दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार