काठमाडौं ।
नेपाल पत्रकार महासंघले पत्रकारलाई ‘धम्की दिएका’ धनुषास्थित विदेह नगरपालिकाका मेयर बेचन दासलाई कारबाही गर्न माग गरेको छ ।
समाचारको विषयलाई लिएर अनलाइन खबरडटकममा कार्यरत पत्रकार शैलेन्द्र महतोलाई मेयर दासले ‘धम्की दिएको’ दिएको भन्दै महासंघले उनीमाथि कारबाहीको माग गरेको हो ।
पुस १५ गते शुक्रबार नवनिर्वाचित मधेस प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण समारोहको समाचार संकलनका लागि मधेस प्रदेशसभा सचिवालय परिसर पुगेका पत्रकार महतोलाई मेयर दासले भौतिक कारबीको धम्की दिएको महासंघले जनाएको छ ।
पीडित पत्रकार महतोका अनुसार मेयर दासले “नगरपालिका आउनु ‘लात्तीले हानेर छातीको हाड भाँचिदिन्छु’, मैले नसके महिला र अन्य मान्छे लगाएर भाँच्छु” भनेर धम्क्याएको महासंघले जनाएको छ ।
“सार्वजनिक निकायका प्रमुखजस्तो जिम्मेवार व्यक्तिबाट पत्रकारलाई यस किसिमले धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । महासंघ पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसिद बनाउने यस्ता कार्यको कडा शब्दमा भर्त्सना गर्दछ ।
प्रेसविरोधी कार्यमा संलग्न जो कोही भए पनि कानुनबमोजिम कारबाही गरी पत्रकारलाई निर्धक्क र सुरक्षित रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग महासंघ माग गर्दछ,” आइतबार महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।