सर्वाेच्चमा बहस -‘प्रक्रिया पूरा नगरी संसदको घाँटी निमोठ्ने काम भयो’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा जारी छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा विघटन गलत भएको भन्दै दायर भएका २६ वटा र प्रधानमन्त्री ओलीलाई नै निरन्तरता दिनुपर्ने माग गर्दै दायर भएका ४ वटा गरी ३० वटा रिटको सुनुवाइ संवैधानिक इजलासमा चलिरहेको हो । इजलासमा रिट निवेदकलाई आफ्नो पक्ष राख्नका लागि १० मिनेटको समयसीमा निर्धारण गरिएको छ । इजलासको प्रारम्भमै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले रिट निवेदकलाई १० मिनेटको समयसीमा तोकिदिनुभएको हो ।

बहसमा अधिवक्ता कुलबहादुर बोगटीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको घाँटी निमोठ्ने काम भएको बताउनुभयो । शुक्रबार संसद विघटनसम्बन्धी मुद्दामा रिट निवदेकका तर्फबाट संवैधानिक इजलासमा बहस गर्दै उनले संसद विघटनको निर्णय असंवैधानिक भएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘संविधानको धारा ७६ को उपधारा ३ को प्रक्रिया पूरा नगरी संसदको घाँटी निमोठ्ने काम भयो, त्यसैले संसद पुनर्स्थापना होस् ।’यस्तै अर्का अधिवक्ता कृतिनाथ शर्माले प्रधानमन्त्री ओलीले राजीनामा गरेर मात्र प्रधानमन्त्रीमा आफ्नो नयाँ आधार प्रस्तुत गर्न सक्ने बताउनुभयो । ‘प्रधानमन्त्री ओलीले राजीनामा गरेर मात्र आफ्नो नयाँ आधार प्रस्तुत गर्नु पर्ने थियो । त्यही पदमा रहेर फेरि त्यही पदको आधार कसरी देखाउन सक्छन्’, उहाँले प्रश्न गर्नुभयो ।

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर विभिन्न ३० रिटमाथि सुनुवाइ सुरु भएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले प्रतिनिधि सभा विघटनविरुद्ध १९ वटा रिटमा बिहीबार सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन्। ११ वटा रिट यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन् । अब सबै ३० वटाको सुनुवाई संवैधानिक इजलासमा हुने हो।प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवेधानिक इजलास गठन गर्नुभएको छ । आफ्नो अध्यक्षमा गठित इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजवहादुर केसी र बमकुमार श्रेष्ठ तोकिनुभएको छ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !