काठमाडौँ
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मी मृत्यु प्रकरणका विषयमा थप अनुसन्धान गरी सत्यतथ्य प्रतिवेदन पेस गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
गृह मन्त्रालयमा आज गृहसचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितको छलफलमा मन्त्री लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई उक्त निर्देशन दिनुभएको उनको सचिवालयले जनाएको छ।
गृहमन्त्री लामिछानेले सिआइबीलाई चाँडोभन्दा चाँडो प्रतिवेदन आउने गरी स्वतन्त्रपूर्वक उक्त घटनाको छानबिन गर्न पनि निर्देशन दिएका छन्।
सचिवालयका अनुसार प्रहरी अनुसन्धानको अहिलेसम्मको रिपोर्टबारे जानकारी लिएसँगै गृहमन्त्री लामिछानेले निर्मला कुर्मीको न्यायका लागि अनसनरत महिला अधिकारकर्मी रूबी खानलाई टेलिफोन गरी धर्ना स्थगन गरी अनुसन्धान सहज बनाइदिन आग्रह पनि गरेका छन्।
धर्नाकी मुख्य अभियन्ता रूबी खानले भने पीडकले सजाय नपाएसम्म आफूहरू विश्वस्त हुन नसक्ने बताइन्।
‘अहिलेसम्ममा तीन पटक सरकार फेरियो, तर सबैको पारा उस्तै हो। सबैले गर्छु भने तर अहिलेसम्म कसैले काम गरेनन्,’ गृहमन्त्री लामिछानेले आफूलाई टेलिफोनमार्फत दुई पटक आश्वासन दिएको बताउँदै उनले भनिन्।
उनका अनुसार गृहमन्त्री लामिछानेले उनलाई पुस १६ गते र सोमबार टेलिफोन सम्पर्क गरेका थिए।
यो मुद्दाको छानबिन हुने भएपछि रूबीको टोलीले काठमाडौंमा पछिल्लो पटक आन्दोलन स्थगित गरेको थियो। छानबिन समितिले गरेको छानबिनमा बादशाह कुर्मी नै मुख्य दोषी भएको र उनले नै निर्मला कुर्मीको सम्पत्ति हिनामिना गरेको भन्ने निष्कर्ष आएको थियो।
त्यति हुँदाहुँदै पनि सरकारले उक्त मुद्दा अदालतसम्म नपुर्याएको र पर्याप्त प्रमाण नपुगेको भनिरहेको उनले बताइन्। त्यसैले पाँच दिनयता उनीहरू माइतीघरमा पुनः आन्दोलन गरिरहेका छन्।
‘यो निर्मला कुर्मीको मात्र सवाल होइन, उनीजस्ता लाखौंको सवाल हो। तर सरकारले महिला तथा मानव अधिकारको विषयमा न्याय देलाजस्तो मेसो नै गरेको छैन,’ रूबीले भनिन्।