‘राप्रपालाई कांग्रेसले प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको छैन’ : रमेश लेखक

काठमाडौं ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आफ्नो पार्टीले प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको बताएका छन् ।

शुक्रबार नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीमा राप्रपालाई आफ्नो पार्टीले प्रस्ताव नगरेको प्रस्ट्याएका हुन् ।

उनले आफ्नो पार्टी एमाले–माओवादी केन्द्रसहितको सत्ता समीकरणलाई भत्काएर नयाँ समीकरण बनाउने काममा नलागेको पनि दाबी गरे ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बारेमा भने यही पुस २६ गते बिहान बस्ने पार्टी संसदीय दलको बैठकले निर्णय गर्ने बताए । आफूहरू अहिले पार्टी संसदीय दलको भोलि (शनिबार) बिहान बोलाइएको बैठकको गृहकार्यमा जुटेको उनको भनाइ थियो ।

प्रमुख सचेतक लेखकले भने, ‘हामी यो समीकरण भत्काउने, नयाँ समीकरण बनाउने काममा लागेका छैनौं । हाम्रो भोलि संसदीय दलको बैठक छ । त्यसपछि हामी २६ गते बिहान फेरि संसदीय दलको बैठक बस्छौं । र, सरकारलाई विश्वासको मत दिने प्रस्तावमा हाम्रो दलको धारणा हामी २६ गतेको बिहान सार्वजनिक गर्छौ ।

अहिलेलाई यहाँले भन्नु भएको जस्तो गठबन्धन भत्काउने, नयाँ गठबन्धन बनाउने कुरा छैन । अहिले हामी हाम्रो आन्तरिक तयारीमा छौं । हामी अव यो नयाँ प्रतिनिधिसभामा पार्टीलाई एकताबद्ध, सशक्त रूपले कसरी अगाडि लिएर जान्छौं, हाम्रा भूमिकाहरू के हुन्छन् ? त्यसमा केन्द्रित भएर आन्तरिक तयारीमा जुटिसकेका छौं ।

भोलिबाट हाम्रो पनि संसदीय दलको औपचारिक बैठकहरू सुरु हुन्छन् । अहिले पनि हामी आन्तरिक तयारी र गृहकार्य गरिरहेका छौं । राप्रपाले के भनेछ, त्यो मलाई थाहा छैन । हामीले राप्रपालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका छैनौं ।’

प्रधानमन्त्रीले पुस २६ गते बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ । कांग्रेस प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले विश्वासको मत लिने पत्र आफ्नो दलमा पनि आएको र त्यसका लागि आन्तरिक छलफल सुरु गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार