काठमाडौँ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतलाई लक्षित गर्दै छिमेकी पर्खालबाट पसेर सरकार फेर्नुपर्ने भन्दै लागिरहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै छिमेकी ढोकाबाट नपसेर पर्खाल चढेर कम्पाउन्डमा आएको बताएका छन्।
‘हाम्रा मित्रहरू ढोकाबाट होइन। पर्खालमाथिबाट हाम्रो कम्पाउन्डमा पसेर सरकार यसरी बनाउन कहाँ पाइन्थ्यो, फेरफार गर्नुपर्छ भनेर लागिरहेका छन्,’ उनले भने।
यस्ता गतिविधि कुनै पनि मित्र राष्ट्रबाट अपेक्षा नगरिने उनले बताए। यस्तै आफ्नो राष्ट्र आफ्नै ढंगले चलाउने बताउँदै आन्तरिक मामिलामा हात नहाल्न पनि भनेका छन्।
‘यो मैले किन भन्नै पर्यो भने यस्तो खालको कृयाकलाप हामी हाम्रा छिमेकीहरू, हाम्रा मित्रहरू कसैबाट पनि अपेक्षा गर्दैनौं। हामी हाम्रो राष्ट्र आफ्नो ढंगले चलाउँछौं,’ उनले भने, ‘तपाईंहरू जे सहयोग गर्न सक्नुहुन्छ गर्नुस् तर आन्तरिक मामिलामा हात हाल्ने काम नगर्नुस्। कुटनीतिक गतिविधिहरू भनिसक्नु छैन। यस प्रकारका तरिकाहरू बन्द गरौं। मित्रको हिसाबले चलौं। सार्वभौम समानताको सिद्धान्त अनुसार चलौं।’