प्रचण्डलाई विश्वासको मत लिनओलीको भर, राउत र लिङ्देनसँग छलफल, पाउलान मत ?

काठमाडौं :

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत लिने समय नजिकिएसँगै सत्ता साझेदार दलहरु आन्तरिक छलफलमा जुटेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम मंगलबार प्रचण्डले विश्वासको मत लिँदैछन्।

यसैबीच आइतबार बिहान एमाले अध्यक्ष ओलीलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जनमत पार्टीका अध्यक्ष सिके राउत बालकोट पुगेका छन्। उनीहरुबीच शक्ति बाँडफाँड, समसामयिक राजनीति र प्रधानमन्त्री प्रचण्डको विश्वासको मतबारे छलफल भएको छ।

लिङ्देन र राउतसँग ओलीले प्रचण्डलाई प्रधानमन्त्रीको विश्वासको मत दिनुपर्ने बताएका छन्। सत्ता गठबन्धन भत्काएर प्रचण्डलाई आफूहरुले नै प्रधानमन्त्री बनाएको भन्दै ओलीले अन्य विकल्प नसोचि विश्वासको मत दिन आग्रह गरेको बालकोट स्रोतले जनाएको छ।

ओलीले प्रचण्डले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताए। उनीहरुबीच न्युनतम साझा कार्यक्रमको विषयमा पनि छलफल भएको छ।

२ सय ७५ रहेको प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ चाहिन्छ। प्रचण्डलाई १६९ भन्दा बढी सांसदको समर्थन रहेको छ। नयाँ सत्ता गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन्।

ओलीले बाँकी विषयमा दलहरुबीच आपसी समझदारीमा अगाडि बढ्ने बताए। शनिबार ओलीले बालुवाटारमा न्युनतम साझा कार्यक्रमको प्रतिवेदन समेत बुझेका छन्। संसदबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ।

प्रदेश सरकार गठनको मिति नजिकिएकाले दलहरू आन्तरिक छलफलमा समेत जुटेका छन्। प्रदेश नम्बर १ मा सरकार गठनको आज अन्तिम दिन रहेको छ।

प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि दिएको समय साँझ ५ बजेबाट सकिँदैछ। प्रदेश नं. १ का नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन ४ दलको समर्थनमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी भइरहेको एमाले प्रदेश १ का प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

अन्य प्रदेशको भागबण्डा पनि सत्ता साझेदार दलको आजको बैठकमा छलफल हुनेछ। प्रदेश प्रमुखको कार्यालयका अनुसार बागमती र गण्डकीमा सोमबार भित्र मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुपर्नेछ। त्यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबीका लागि पुस २७ गतेसम्मको समयावधि रहेको छ। मधेश प्रदेशमा बिहीबारभित्र दाबी पेश गर्नुपर्नेछ।

बागमतीमा राप्रपा र मधेशमा जनमत पार्टीले समेत मुख्यमन्त्रीको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार